भैरहवा असोज ३१/
नेपाली परम्परागत कला, संस्कृति र दसैँको मौलिक पहिचान संरक्षण गर्ने उद्देश्यले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६, किशोरपुरमा लिङ्गे पिङ स्थापना गरिएको छ।
श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) ले बडादसैँ, दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा स्थापना गरेको नेपाली लिङ्गे पिङको आज फूलपातीका दिन उद्घाटन गरिएको हो। उद्योगपति, समाजसेवी तथा होटल एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष एवं केन्द्रका सल्लाहकार चन्द्रप्रकाश श्रेष्ठले पिङको उद्घाटन गर्नुभएको थियो।
सशस्त्र प्रहरी बल रुपन्देहीको प्राविधिक सहयोग तथा दुर्गा कोलोनी निवासी चन्द्रबहादुर केसीको मुख्य सौजन्यमा पिङ निर्माण गरिएको केन्द्रले जनाएको छ। नेपाली समाजमा लिङ्गे पिङको परम्परा दसैँको उल्लाससँग जोडिएको छ। दसैँ नजिकिँदै गर्दा गाउँघरमा बाँस वा काठका बलिया लट्ठा गाडेर डोरीको सहायताले पिङ बनाउने र सामूहिक रूपमा खेल्ने चलन रहिआएको छ।
पिङ खेल्नु मनोरञ्जनको माध्यम मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको नेपाली लोकसंस्कृति र सामाजिक जीवनको अभिन्न हिस्सा पनि हो। लिङ्गे पिङले दसैँको आगमनसँगै गाउँघरमा उत्साह थप्ने, परिवार तथा छिमेकीलाई एकै ठाउँमा भेला गराउने र आपसी सद्भाव बढाउने काम गर्छ। सामूहिक रूपमा पिङ निर्माण गर्ने र खेल्ने परम्पराले सहकार्य, मेलमिलाप र सामुदायिक एकतालाई समेत बलियो बनाउँछ।
आधुनिक जीवनशैली र मनोरञ्जनका नयाँ साधनको विस्तारसँगै कतिपय स्थानमा ओझेलमा पर्दै गएको यस परम्पराको संरक्षण गर्नु आवश्यक देखिएको छ। केन्द्रका अध्यक्ष अजयकुमार गुप्ताले लिङ्गे पिङ नेपाली संस्कृति र दसैँको पहिचानसँग जोडिएको परम्परागत खेल भएकाले यसको संरक्षण र निरन्तरताका लागि पहल गरिएको बताउनुभयो। उहाँले नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति र परम्परासँग परिचित गराउन तथा दसैँमा सामूहिक रूपमा रमाइलो गर्ने वातावरण बनाउन केन्द्रले पिङ स्थापना गरेको जानकारी दिनुभयो।
आगामी वर्षहरूमा पनि पिङको व्यवस्थापन र सञ्चालनलाई निरन्तरता दिने उहाँले बताउनुभयो। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले लोप हुँदै गएको परम्परा संरक्षण गर्न सामुदायिक संस्थाले गरेको प्रयासको प्रशंसा गर्दै यस्ता गतिविधिले नेपाली कला, संस्कृति र पहिचान जोगाउन योगदान पुर्याउने बताउनुभयो।
फूलपातीका दिन बिहान ८ बजेको शुभसाइतमा फूलपाती भित्र्याउने कार्यक्रमसमेत सम्पन्न भएको थियो। बाजागाजासहित मन्दिरबाट निस्किएको टोलीले चोक परिक्रमा गरेको थियो। कार्यक्रममा केन्द्रका पदाधिकारी, सल्लाहकार, स्थानीय महिला अगुवा शकुन्तला अधिकारी, सञ्चिता अर्याललगायत स्थानीयवासीको सहभागिता थियो।
सहभागीहरूले पिङ खेल्दै दसैँको खुसी साटासाट गरेका थिए। केन्द्रले पिङ निर्माणमा प्राविधिक सहयोग गर्ने सशस्त्र प्रहरी बल रुपन्देही, मुख्य सौजन्य गर्ने चन्द्रबहादुर केसी तथा कार्यक्रममा उपस्थित सम्पूर्ण स्थानीयवासीप्रति आभार व्यक्त गरेको छ। केन्द्रका सल्लाहकार आनन्द न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
किशोरपुरमा स्थापना गरिएको लिङ्गे पिङले भैरहवा तथा आसपासका बासिन्दालाई परम्परागत खेलको आनन्द लिन अवसर प्रदान गर्नुका साथै नेपाली मौलिक संस्कृति संरक्षण र सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।