भैरहवा । रुपन्देहीको कंचन गाउँपालिकाले ६३ करोड ३८ लाख ३५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बिहीबार गाउँ सभामा आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि पालिका उपाध्यक्ष गोमा तरामुले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
कृषि, पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर पालिकाले बजेट ल्याएको छ । जसमा चालुतर्फ २५ करोड २९ लाख ४० हजार, पुँजीगततर्फ २४ करोड ५८ लाख ९५ हजार र सामाजिक सुरक्षातर्फ १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, शिक्षातर्फ दुई करोड ५० लाख ६ हजार, स्वास्थ्यतर्फ ६६ लाख ६० हजार, खानेपानी तथा सरसफाईतर्फ २५ लाख ५० हजार, संस्कृति संरक्षणमा ५ लाख, खेलकुद तथा मनोरंजनमा ५० लाख, सामाजिक विकास ३ करोड ३३ लाख, अध्यक्षसँग युवा इलममा २५ लाख छुट्याइएको छ ।
यस्तै, कृषि तथा पशुतर्फ २ करोड ८ लाख, आर्थिक विकासतर्फ २ करोड २४ लाख ५० हजार, स्थानीय सडक पूर्वाधार विकासतर्फ २ करोड २४ लाख ४० हजार, सिंचाईमा ५६ लाख ५० हजार, पूर्वाधार विकासमा ११ करोड ३४ लाख ३५ हजार, वन तथा भू–संरक्षणमा ५ लाख छुट्याइएको छ ।