भैरहवा । भीम अस्पताललाई ५ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खांणको पहलमा गैरआवासीय नेपाली संघ केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंको सहयोगमा अस्पताललाई १० लिटर क्षमताको सो अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको हो ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक लगायतले उक्त सामग्री अस्पतालका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई बुधबार हस्तान्तरण गरेका हुन् ।
दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण धेरै नागरिकले अकालमा ज्यान गुमाउनुपरेकोले अक्सिजनकै अभावमा अब पनि कोही विरामीको ज्यान नजाओस भन्दै उक्त सामाग्री प्रदान गरिएको रज्जाकले बताए । ‘महामारीको बेला भीम अस्पतालले गरेको काम सराहनीय छ, ’उनले भने । अस्पतालममा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बस्नको लागि कांग्रेस रुपन्देही जिल्ला पार्टी कार्यालयले आफ्नो भवन उपलब्ध गराएको उनको भनाइ थियो । कांग्रेस जनताको साथमा रहेको उनले बताए ।
भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले कोरोना महामारीको तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै अस्पतालले बालबालिकाको उपचारका लागि २० प्रतिशत अर्थात १० वटा बेड थप गर्न लागेको बताए । उनले अस्पतालमा केही आइसीयू बेड र भेन्टिलेटर पनि थप्न लागेको जानकारी दिए । त्यस्तै प्रतिदिन २ सय अक्सिजन सिलिण्डर उत्पादन क्षमताको अक्सिजन प्लान्ट अस्पतालमा जडान गर्न लागिएको बताए । उनले अक्सिजन कन्सन्ट्रेटर सहयोगको लागि पहल गर्ने पूर्वमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खांणलाई धन्यवाद दिए ।