भैरहवा । उद्योग व्यापार संगठन रुपन्देहीले निषेधाज्ञा अवधिभरको बैंक ब्याजमा छुट गर्न माग गरेको छ ।
उद्योगी व्यवसायीहरुको साझा संस्थाको रुपमा रहेको संगठनले निषेधाज्ञा अवधिमा उद्योगी व्यवसायीहरु धेरै प्रभावित बनेकोले सो अवधिको बैक व्याजमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गर्न माग गरेका हुन । संगठनले आइतबार नेपाल राष्ट्र बैंक लुम्बिनी प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक सुदिप फुयालमार्फत राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न ८ बुंदे माग राखेको हो ।
संगठनले गत वर्ष लगानी गरिएको सहुलीयतपूर्ण कर्जाको नविकरण गर्नुपर्ने, २०७८ साल वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहने अवधिसम्मको अवस्थालाई शुन्य अवधि मानी बाँकी अवधि मात्रै गणना गर्नुपर्ने, २०७८ असार मसान्तसम्म तिर्नुपर्ने ब्याज, किस्तालाई व्यवसायको प्रकृति हेरी ६ महिनादेखि १ वर्षसम्मको समय सिमा थप गर्नुपर्ने र बैंकको किस्ता नविकरणलाई कम्तीमा ६ महिना समय दिनुपर्ने संगठनले माग गरेको छ ।
त्यस्तै कोभिड–१९ ले असर पारेका उद्योगी व्यवसायीले उपभोग गरेको कर्जा बराबरको रकम पुर्नकर्जा उपलब्ध गराउनुपर्ने र सावा किस्ताको रकमलाई पुर्नताजकीकरण गर्नुपर्ने संगठनको माग छ ।
रुपन्देही जिल्लामा २०७८ वैशाख १७ गतेदेखि नै निषेधाज्ञा जारी रहेकोले यो विषम परिस्थितिमा नेपाल राष्ट्र बैंकबाट जारी हुने मौद्रिक नीतिमा संस्थाले उठाएका मागहरु सम्बोधन गरी थोरै भए पनि राहत उपलब्ध गराउनुपर्ने उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।
‘नेपालसहित विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गर्त वर्ष पनि उद्योग व्यवसाय पूर्ण रुपमा बन्द रहेको थियो, यस वर्ष पनि कोभिड–१९ को दोस्रो लहरका कारणले जनधनको क्षति भइ उद्योग व्यवसाय बन्द रहेका छन् र तत्काल पूर्ण रुपमा खुल्ने स्थिति छैन र खुले पनि पूर्ण रुपमा सञ्चालन गर्ने स्थिति छैन, ’भण्डारीले भने ।
ज्ञापनपत्र बुझ्दै राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक फुयालले उद्योग व्यापार संगठन रुपन्देहीको माग समेटिएको पत्र तत्काल राष्ट्र बैंक केन्द्रीय कार्यालयमा पठाउने बताए । उनले संगठनले उठाएको मागको सम्बोधन भएपछि देशभरीका उद्योग व्यवसायीले लाभ लिने विश्वास व्यक्त गरे । ‘अघिल्लो वर्षको कोभिड–१९ को समयमा पनि नेपाल सरकारको मौद्रिक नीतिले धेरै कुरा समेटेको थियो, दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीसहित मुलुकका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएको छ, उद्योगी व्यवसायीका माग सम्बोधनको लागि राष्ट्र बैंक अगाडी बढ्छ, ’उनले भने ।