Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

डब्ल्यूएचओद्वारा कालो ढुसीको औषधि सहयोग


  • लुम्बिनी चिन्तन
  • जेठ २२, २०७८ शनिवार
  • 1.7K
    SHARES

डब्ल्यूएचओद्वारा कालो ढुसीको औषधि सहयोग

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कालो ढुसी अर्थात ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन बी सहयोग पठाएको छ ।

नेपालको आग्रहमा डब्ल्यूएचओले एक हजार भाइल एम्फोटेरिसिन बी नेपालमा पठाएको हो ।  डब्ल्यूएचओले पठाएको एक हजार भाइल नेपाल आइपुगेको छ । नेपालमा पनि कालो ढुसीको बिरामी देखिन थालेपछि सरकारले विश्व स्वास्थ्य सङ्गठनसँग जति सक्दो छिटो औषधिको सहयोग पठाउन आग्रह गरेको थियो ।

डब्ल्यूएचओले पठाएको यो औषधि भुसुनाको टोकाइका कारण लाग्ने कालाजार रोग विरुद्ध पनि प्रयोग हुने भएकाले केही भाइल त्यसका लागि पनि राखिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिए ।

उहाँका अनुसार स्वास्थ्य सेवा विभागले थप १० हजार भाइल यो औषधिको खरिदका लागि तयारी गरिरहेको छ ।  पछिल्लो समय भारतमा बढ्दै गएको कालो फङ्गसका कारण यसको निर्यातमा प्रतिबन्ध लगाएपछि औषधिको अभाव हुन थालेको छ ।

नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसी पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार कालो ढुसीका बिरामी नेपालगञ्ज, वीरगञ्ज र काठमाण्डौमा भेटिएका छन् । यसअघि कालो ढुसी भारतमा देखिएको थियो । डाक्टरका अनुसार कालो ढुसीले कोभिड–१९ भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने गर्दछ । यो सङ्क्रमण बिरलै देखिने तर सङ्क्रमण गम्भीर भए ज्यान समेत जान सक्ने डा।पौडेलले बताउनुभयो।

अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने रातो हुने वा दुख्ने, आँखाका ढकनी सुनिने,ज्वरो आउने, आँखाले धमिलो देख्ने, नाकबाट रगत र बाक्लो सिँगान आउने, दाँत दुख्ने वा हल्लिने जस्ता लक्षण देखा पर्दछ । यो रोग मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टिबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेलाई कालो ढुसीको जोखिम हुने उहाँले बताउनुभयो ।

कालो ढुसीबाट बच्नका लागि सफा र सुक्खा मास्क प्रयोग गर्ने, नियमितरूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, घर बाहिर वा फोहरमा काम गर्नुपरे डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नुनिलो पानीले नाक सफा गर्ने जथाभाबी एन्टिबायोटिक औषधि नखाने, मधुमेह भएका बिरामीले मधुमेह नियन्त्रण गर्ने र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि खानु पर्ने डाक्टरको सुझाव छ । 


  • सम्बन्धित विषय:

  • # ब्लयाक फंगस

  • लुम्बिनी चिन्तन

    थप समाचार