नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ केरारेनीस्थित चौधरी उद्योगको बियर प्लान्टमा लागेका आगो नियन्त्रणमा आएको छ ।
आइस वियर प्लाण्टमा बिहान ८ बजेतिर अचानक लागेकाे आगो करीब पाँच घण्टामा नियन्त्रणमा आएको हो ।
नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । सिजी बु्रअरीको गोदाम घरमा लागेको आगो नियन्त्रका लागि गोदाम घरका भित्तासमेत भत्काइएको थियो । आगो नियन्त्रणमा लिनका लागि र बढ्दै गएकाे कम्पनीको प्लान्ट भएको क्षेत्रमा नपुगोस् भनेर गोदाम घरको भित्तासमेत भत्काएर आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
आगलागीबाट तयारी अवस्थामा रहेको बियर, अन्य पेयपदार्थ, उत्पादनका लागि राखिएका कच्चापदार्थलगायत सामग्रीमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने यकिन विवरण भने अझै नआएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।