बुटवल । बुटवल रामनगरस्थित अस्थायी कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा पानी चुहिएको छ । केही दिनदेखिको लगातारको वर्षाका कारण आईसीयू कक्षको बेड ९ र ११ छेउमा पानी चुहिएको हो ।
आईसीयू कक्षमा पानी चुहिएर जलमग्न भएपछि नर्सहरूले बाल्टीमा उठाएर बाहिर फाल्ने गरेका छन् । पुराना भवनमा निर्माण गरिएको आईसीयू कक्षमा गत वर्ष पनि पानी चुहिएको थियो । यस वर्ष बढी वर्षा भएका कारण आईसीयू कक्ष नै जलमग्न भएको त्यहाँ कार्यरत एक नर्सले जानाकारी दिइन् ।
‘पानी चुहिएपछि हामीले बाल्टीमा सोर्दै बसेका छौँ । गत वर्ष पनि पानी पर्दा ममर्त गर्न भनिएको तर मर्मत नभएकाले बिरामीले समेत दुःख पाएका छन्,’ ती नर्सले बताइन् ।
कोरोना विशेष अस्पतालका फोकल पर्सन डा। नन्दु पाठकले पुरानो भवन भएका कारण पानी चुहिएको बताए । भवन केही ठूलो भएका कारण बेड सारेर भए पनि अहिले काम चलाइएको उनको भनाइ छ । उनले पानी पर्न रोकिनासाथ व्यवस्थापन पक्षसँग कुरा गरेर मर्मत गरिने बताए ।
‘धेरै पानी परेमा फन्सलिङ झर्न सक्छ । अहिले नर्सले बाल्टीमा पानी उठाएर फालेका छन् । मर्मत गर्न यस्तो बेलामा सकिएको छैन् । मर्मत पानी पर्न रोकिनासाथ हुन्छ,’ उनले भने ।