भैरहवा । रुपन्देहीमा शुक्रबार ५ सय ६६ जना संक्रमित कोरोना संक्रमणबाट मुक्त भएका छन । पछिल्लो सातामा दैनिक रुपमा ५ सयको हाराहारीमा संक्रमित निको भइरहेका छन भने सरदर ५ सयकै हाराहारीमा संक्रमित थपिएका छन ।
कोभिड हटस्पट जिल्लाको रुपमा रहेको रुपन्देहीमा पछिल्लो २ दिन देखी संक्रमितको संख्या पनि घट्दै गएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार बैशाख महिनामा मात्रै जिल्ला भर २३ हजार ८ सय ६ जनाको पिसीआर भएको मध्ये ५१ प्रतिशत अर्थात १२ हजार २ सय १० जनामा संक्रमण पुुष्टि भएको छ । कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहका अनुसार संक्रमित मध्ये १ दशमलव ४६ प्रतिशत संक्रमितको बैशाखमा मृत्यु भएको छ भने हाल सम्म ३ सय ३६ जना संक्रमितको ज्यान गएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७८ जनाको आरटिपिसिआर परिक्षण गर्दा ५ सय १४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यस्तै जिल्लामा पछिल्लो २४ घण्टा भित्र ९ जनाको मृत्यु भएको फोकल पर्सन शाहले जानकारी दिए । आज थपिएका संक्रमित मध्ये सबै भन्दा बढी तिलोत्तमा नगरपालिकामा १ सय ६५ जना रहेका छन् । त्यस्तै बुटवलमा १ सय ५४ जना, सिद्धार्थनगरमा ४५ जना, सियारीमा ५५ जना, देवदहमा २६ जना र सैनामैनामा ३० जना संक्रमित थपिएका छन ।
यस्तै ओमसतिया गाउँपालिकामा १० जना, कन्चनमा १६ जना, मायादेवीमा ४ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना, शुद्धोधनमा ६ जना र कोटहीमाई गाउँपालिकामा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीका ४ वटा पालिका रोहिणी, सम्मरीमाई, गैडहवा र मर्चवारीमा आज कोरोना संक्रमितको संख्या शून्य छ । रुपन्देहीमा संक्रमणमा परि मृत्यु हुनेमा २ प्रतिशत मात्र रहेका छन् भने ३३ प्रतिशत सक्रिय संक्रमित र ६५ प्रतिशत संक्रमित निको भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार सक्रिय संक्रमित ७ हजार ४ सय ८ जना मध्ये ३४२ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन, ७ हजार ६६ जना होम आइशोलशनमा रहेका छन ।