काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको वाइड बडी ए ३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ ।
चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ ।
वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज सोमबार बिहान ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको जानकारी दिए । ‘चीनबाट स्वास्थ्य सामग्री ल्याइदिन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ, हामी ९निगम० ले जहाज पठाउनका लागि आफ्नो तयारी थालिसकेका छौ’, उनले भने ।
चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने जनाइएको छ । बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ । नेपाल सरकारका अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिन्डर ल्याउन थालेको हो । नेपालमा अहिले अक्सिजन सिलिन्डर छ हजार २८८ रहेको र दैनिक एक हजार ४११।५ लिटर खपत भइरहेको जनाइएको छ ।