भैरहवा । नेपाल भारत सिमानाका बेलहियाबाट दैनिक नेपालीहरुको आउने क्रम घटेको छ ।
भारतमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमणले त्यहाँ स्थित विभिन्न शहरमा लकडाउन र कर्फ्यू लगाइएपछि नेपाल आउने क्रम पनि घट्दै गएको हो ।
बैशाखको सुरुवातसँगै भारतमा रोजगारीको सिलसिलामा गएका कामदार वेलहिया नाकाहुदै दैनिक रुपमा बढेका थिए, अहिले एक सातादेखि सो क्रम विस्तारै घट्दै घट्दै गएको इलाका प्रहरी कार्यालय वेलहियाका प्रमुख प्रहरी निरिक्षक नविन पौडेलले बताए । सिमामा आवगमन पनि ठप्प छ । भारतबाट आउने नेपाली नागरिकहरुलाई प्रवेश दिइएको छ भने उपचारका लागि भारत जाने बाहेकलाई भारतले पनि प्रवेश गर्न दिइएको छैन ।
शुक्रबार दिउसो ३ बजे सम्म यस नाकाबाट १ सय २३ जना नेपाली स्वदेश फर्केका छन, १०८ पुरुष र १५ महिला स्वदेश फर्केकोमा ३ जनामा संक्रमण पुष्टि भएको इप्रका वेलहियाले जानकारी दिएको छ । शनिबार देखि नेपाल आउनेको संख्या दिनानुदिन घट्दो छ, शनिबार ६६५जना, आइतबार ३७५, सोमबार ३६१, मंगलबार २९७, बुधबार २७६ बिहीबार २५३ र आज दिउसो ३ बजे सम्म १२३ जना नेपालीले नेपाल प्रवेश गरेका छन ।
नेपाल आउने अधिकांस रोजगारीको शिलशिलामा भारतका विभिन्न शहरबाट आएका हुन, कतिपय विदामा र कतिपय महामारीको सन्त्रासले घर फर्किएको छन । यसरी नेपाल फर्किनेमा पाल्पा, गुल्मी अर्घाखाची प्युठान नवलपरासी जिल्लाका रहेका छन, केही मात्रामा लुम्बिनी प्रदेश बाहिर जिल्लाका पनि यही नाकाबाट फकिएका छन ।
नेपाल प्रवेश गर्ने सबैको सिमा विन्दुमै अनिवार्य स्वास्थ्यकर्मीको टीमले स्वास्थ्य परीक्षण भइरहेको छ । ज्वरो नाप्ने र लक्षण रहेका शंकास्पदलाई सिमामा स्थित होल्डिङ सेन्टरमा आरडिटी एन्टिजिनबाट परिक्षण भएको छ । सिमित जनशक्तिले काम गर्न कठिनाई भए पनि जसो तसो काम गरिरहेका छौ , आज मात्रै एक जना हाम्रै सहकर्मीमा संक्रमण पुष्टि भएको हेल्थ डेस्कमा खाटिएका ल्याब टेक्निशियन लोकेन्द्र कण्डेलले बताए ।
कण्डेलका अनुसार हाल सम्म ८ सय ६२ जनाको आरडिटी एन्टिजिन परिक्षण भएको छ । आउन त धेरै आएका छन तर लक्षण रहेका शंकास्पद र पोजिटिभ देखिएका समूहको एन्टिजिन परिक्षण भएकाे छ कण्डेलले भने ।
भारतमा कर्फ्यू लागू भएपछि नेपालबाट भारत जानेको संख्या घटेको छ । उताबाट नेपाल आउने क्रम पनि रोकिएको छ ।