भैरहवा । कांग्रेस पार्टी कार्यालय रुपन्देहीले अहिले विषम परिस्थितीलाई हेर्दै भैरहवा स्थित कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेशन निर्माणको लागि दिने भएको छ ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले कोरोना महामारीको दोस्रो चरण समुदायस्तरमा फैलिरहेको र अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भइरहेकोले कोभिड रोकथाम तथा न्युनिकरणका लागि पार्टी कार्यालय अस्थायी अस्पताल वा आइसोलेशन बनाउने प्रायोजनका लागि दिने बताए ।
कांग्रेस पार्टी कार्यालय रुपन्देही भैरहवा भीम अस्पतालको पछाडी रहेको छ । २ वटा हल, ११ वटा कोठासहितको दुईतले कम्पाउन्ड सहितको भवन आइसोलेशन निर्माणको लागि स्थानीय, प्रदेश, संघीय सरकार वा अन्य कुनै गैरनाफामुखी संस्थाले लिन चाहेको खण्डमा तत्काल प्रयोगमा दिने व्यवस्था मिलाइएको सभापति रज्जाकले भने ।
सरोकारवाला निकाय यो महामारी नियन्त्रण र जनताको जीवन रक्षाको लागि गभिर बन्न आग्रह गर्दै उनले कुनै पनि कोभिडका बिरामीलाई उपचारको लागि बेडको समस्या नहोस् भन्ने हेतुले आफूहरु पार्टी कार्यालय आइसोलेशन निर्माणको लागि दिन आवश्यक अरु सहयोग समेत गर्न तयार रहेको बताए ।