भैरहवा । रूपन्देहीमा कोरोना संक्रमितको संख्या बढेसँगै बुधबारदेखि उपचारमा समस्या देखिन थालेको छ । भैरहवास्थित भीम अस्पतालमा बेड अभावमा अस्पतालबाहिरै उपचार थालिएको छ । अस्पतालमा आउने बिरामीका लागि प्रायः अक्सिजन आवश्यक देखिएको छ । २७ बेड क्षमताको अस्पतालमा बेड अभावमा गल्ली र अस्पतालबाहिर उपचार गर्न बाध्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शकुन्तला गुप्ताले बताइन् । बुधबार भीम अस्पतालले १६ वटा इमर्जेन्सी बेड थप गरेको छ । अस्पतालमा बेड संख्या ५६ पुगेको छ । एक सय बेड कोभिड अस्पताल सञ्चालन गरेको युनिभर्सल मेडिकल कलेजले ६० वटा एचडियु बेड थप गर्न स्थानीय प्रशासनसँग दैनिक तीन सय अक्सिजन सिलिन्डर माग गरेको छ ।
दैनिक ८० देखि एक सय अक्सिजन सिलिन्डर खपत गर्ने अस्पतालहरूले अक्सिजनको माग बढाएका छन् । युनिभर्सल मेडिकल कलेजले अन्य समयमा एक सय अक्सिजन सिलिन्डर खपत गर्दै आएको थियो । सय बेडको कोभिड अस्पताल बनाएसँगै दैनिक पाँच सय सिलिन्डर खपत गरेको छ । अस्पतालले केही दिनमै थप ६० वटा कोभिड एचडियु बेड थप गर्न लागेको छ । त्यसका लागि कलेजलाई थप तीन सय अक्सिजन सिलिन्डर आवश्यक पर्छ । जिल्लामा रहेका तीनवटा अक्सिजन उद्योगले ११ सय सिलिन्डर उत्पादन गर्दै आएका छन्, त्यसमा मेडिकल कलेजले मात्र आठ सय सिलिन्डर खपत गरेकाले अन्य अस्पतालमा अभाव देखिन थालेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । कोभिडका बिरामीलाई हाईफ्लोमा अक्सिजन दिनुपर्ने भएकाले खपत बढी भएको उनको भनाइ छ । बुधबारदेखि ५६ बेड सञ्चालनमा ल्याएको भीम अस्पतालमा दैनिक एक सय ४० सिलिन्डर खपत हुने गरेको छ ।