भैरहवा । भैरहवामा जारी निषेधाज्ञाको दोस्रो दिन थप कडाई गरिएको छ । पहिलो दिन प्रशासनले केही लचकता देखाएपनि आज दोस्रो दिन आक्रमक रुपमा उत्रिएको छ ।
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रस्तावमा जिल्ला प्रशासन कार्यालयले बिहीबार देखि गरेको निषेधाज्ञा सहितको लकडाउन आदेश गरेको छ । पहिलो दिनको तुलनामा आज थप कडाई गरेका छौ । पहिलो दिन कतिपयले निषेधाज्ञाको जानकारी नभएर सवारीसाधान चलाएको, यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले बताए ।
आजबाट सुरक्षा संयन्त्रलाई थप ठाउँमा परिचालन गरि पहिलो दिन भन्दा थप प्रभावकारी बनाएका छौ, हामी आफै पनि फिल्ड खटिएका छौ, मातहत रहेका सबैको निरिक्षण पनि गरिरहेकाले हिजो भन्दा आज आवगमन ठप्प छ डिएसपी थापाले बताए ।
हिजोको कारवाहीले पनि सर्वसाधारणमा सन्देश गएको छ, अब उल्लंघन गरिए कारबाही गर्ने चेतावनी दिएकोले पनि प्रभावकारी देखिएको छ । यस्तो अवस्तथामा उल्लङ्घन गरे यथास्थानमा संक्रामक रोगसम्बन्धी ऐन २०२० अनुसार नियन्त्रणमा लिएर कारबाही गर्ने सबै मातहतलाई निर्देशन दिएका छौ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी थापाले भने ।
भैरहवा क्षेत्र मात्र होइन ग्रामिण तथा भित्री क्षेत्र धकधई, बेथरी, मर्चवार, लुम्बिनी लगायतका क्षेत्रमा पनि प्रहरी परिचालन गरी पूर्ण रुपमा लकडाउन पालना भएको छ । जसले उल्लंघन गर्छ त्यसलाई कानुनअनुसार कारबाही हुनेछ,’ उनले भने
नागरिकलाई दुःख दिने प्रहरीको मनासाय होइन । नागरिकको स्वास्थ्यकै लागि प्रहरीले यसो गर्न लागेको हो । सकेसम्म हामीले उहाँहरूलाई सम्झाउँछौँ । मान्दै मानेन या अटेर गरे कारबाहीको विकल्प हामीसँग छैन,’ उनले भने ।
सरकारले रुपन्देही सहित १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा बिहीबारदेखि लागू गरेको छ । पहिलो दिन उल्लंघन गर्ने धेरै देखिएकोले गृह मन्त्रालयले आजबाट अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न पनि निर्देशन दिएको छ । पहिलो दिन निषेधाज्ञा उल्लंघन गर्ने ८ जना लाई कारवाही गरेका थियौ जस्मा ३ जना जरिवाना तिर्न नसकेर एक महिनाका लागि कारागार चलान भएका थिए । आज साझ ५ बजे सम्म जिल्ला भर कोही पनि कारवाहीमा नपरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।