भैरहवा । कोरोना विशेष अस्पतालमा अक्सिजनयुक्त बेड नपाएपछि एकजना कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै ज्यान गएको छ । देवदह नगरपालिका–६ की ४९ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हो । उनी देवदह नगरपालिकाका एक वडा अध्यक्षकी श्रीमती थिइन् ।
‘बिहानैबाट एउटा बेड मिलाउन बुटवलदेखि काठमाडौंसम्म प्रयास गरियो तर कतै पाइएन,केही उपाय नलागेपछि फिभर क्लिनिकमा राख्नुपर्याे, त्यहाँ राख्न पनि ठूलै पापड बेल्नुपर्यो’ मेयर खत्रीले भने, ‘प्रदेश सरकारले एक वर्षको बीचमा एउटा बेड पनि थप्न सकेको छैन, गफ मात्रै ठूला गर्दा आफ्नै आँखा अगाडि एक सहकर्मीको श्रीमतीले उपचार नपाएर ज्यान गुमाउनुपर्याे ।’
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले कोरोना विशेष अस्पतालमा बेड खाली नभएकाले फिभर क्लिनिकमै राखेर उपचार गरिएको बताए ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसहित रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १७५ पुगेको छ । जिल्लामा २९५ जना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् भने १३ सय १७ जना होम आइसोलेसनमा छन् ।