भैरहवा, साउन २९ । लुम्बिनी प्रदेशमा आगामी २४ घण्टा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी प्रदेशको पहाडी भेग र तराईका केही स्थानहरूमा बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
हाल लुम्बिनीसहित देशभर बादल लाग्ने अवस्था छ भने मध्यम वर्षा जारी रहेको छ। मौसमविद्हरूका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सक्रिय भएकाले विशेषतः पश्चिम नेपालमा प्रभाव बढ्ने देखिएको हो।
भारी वर्षाले सडक, हवाई यातायात, स्वास्थ्य, कृषि, निर्माण कार्य र जनजीवनमा असर पार्न सक्ने चेतावनी दिइएको छ। साथै, नदी–नालामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन भनिएको छ।
महाशाखाले नागरिक र सरोकारवालाहरूलाई पछिल्लो मौसमी अपडेटको पालना गर्न, आवश्यक सतर्कता र पूर्व तयारी गर्न पुनः अनुरोध गरेको छ।