भैरहवा ।रुपन्देहीमा गत साताबाट लगातार कोरोनाका संक्रमित बढ्दै गएका छन । शुन्य अवस्थामा झरेको रुपन्देहीको संक्रमण विगत केही दिन देखि दैनिक रुपमा बढ्दै गएको छ ।
भारतमा तिव्र गतिमा बढेको संक्रमणले नेपालमा पनि कोरोनाको दोस्रो अध्याय शुरु भइसकेको छ । बुधबार ६ जनामा देखिएको संक्रमण सोमबार ५ गुणा बढि ३० जनामा देखिएको छ । संक्रमणको दर दैनिक रुपमा बढ्दो छ बुधबार ६ जनामा, विहीबार ९ जनामा, शुक्रबार १५ जनामा शनिबार २० जनामा आइतबार १० जनामा थप संक्रमण देखिएपनि हाल सोमबार ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
थपिएका संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १२१ पुगेको छ । अहिले पहिला भन्दा अलि फरक प्रकृतिको संक्रमण छ, युवा, विद्यार्थी तथा तल्लो उमेर समूहमा बढि संक्रमण पाइएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए ।
थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ९ हजार २ सय ५६ पुगेको छ । त्यस्तै १५७ जनाको मृत्यु भएको छ भने विभिन्न क्षेत्रबाट ८ हजार ९ सय ७८ जना निको भएर फर्किसकेको कार्यालयले जानकारी दिएको छ ।