भैरहवा, असार २३ । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर काठमाडौँमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा एक जना गरी १४ जनाको मृत्यु भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि काठमाडौं उपत्यका सहितका पूर्वी भागमा तुलनात्मक रूपमा मौसममा सुधार देखिएको छ । तर आज सुदूरपश्चिम र कर्णाली प्रदेशको तल्लो भाग भने प्रभावित हुनेछ । सोमबारदेखि मौसममा आजको भन्दा पनि धेरै सुधार देखिने पूर्वानुमान छ ।
भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको तथा कोशी नारायणीलगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ ।
बाढी र पहिरामा परी बेपत्ता हुनेमा दोलखा गौरीशंकर गाउँपालिका–९, दाङको राजपुर गाउँपालिका–२ तथा स्याङ्जा भिरकोट नगरपालिका–५ का एक एक जना रहेका छन् । हालसम्म तनहुँमा पाँच जना, गुल्मीमा एक जना, ओखलढुंगामा दुई जना, काठमाडौँमा तीन जना, चितवनमा एक जना तथा स्याङ्जामा ६ जना गरी १८ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौँ उपत्यकाका नदी, खोला किनारमा आज पनि प्रहरीले गस्ती तथा अनुगमन जारी राखेको छ । अविरल वर्षाका कारण उपत्यकाको नदीमा पानीको सतह बढेकाले सम्भावित जोखिमलाई मध्यनजरगरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको छ । मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ । असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् । २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् । राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रमा अभिलेख भएका १०४ घटनाबाट १४ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।