भैरहवा चैत्र १
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सवारी चालकहरुका लागी स्वास्थ्य तथा गाडीका लागी ईन्जीनको अवस्था परिक्षण गरेको छ ।
सिदार्थ राजमार्गाको मणिग्राममा क्रिमसन अस्पतालको प्राबिधिक सहयोगमा सवारी चालकको र यातायात कार्यालयका कर्मचारीहरुको सहयोगमा गाडीको अवस्थाका बारेमा जानकारी लिईएको जिल्ला ट्राफिक प्रहरी प्रमुख बजिरसिंह बिष्टले जानकारी दिए ।
चालकको स्वास्थ्य समस्या र गाडीमा खराबीले हुने दुर्घटना न्युनिकरण उद्देश्यले जिल्ला ट्राफिक कार्यालयले एकदिने चालकको स्वास्थ्य जाँच गर्नुका साथै गाडीको इन्जिनको अवस्था परीक्षण गरेको बिष्टले बताए ।
सो अवसरमा बुटवल– भैरहवा खण्डमा सञ्चालन हुने सार्वजनिक यातायातका साधनलाई रोकेर चालकको स्वास्थ्य परीक्षण गरिएको थियो । चालकको स्वास्थ्य परीक्षणका लागि क्रिमशन अस्पतालबाट हुमप्रसाद न्यौपानेको नेतृत्वमा चिकित्सकसहितको टोली खटिएको थियो । आँखा परीक्षणका लागि चिकित्सक अमृत केसीको नेतृत्वमा टोली खटिएको थियो ।
त्यसैगरी गाडीको इन्जिनमा समस्या भए नभएको परीक्षण गर्न नेतृत्वमा टोली खटिएको थियो भने गाडीको इन्जिनमा समस्या भएनभएको परीक्षणका लागि यातायात कार्यालयबाट इन्जिनियर नवीन घिमिरे आएका थिए ।
अधिकांश दुर्घटना चालकको स्वास्थ्यमा समस्या देखिएका कारण हुने गरेको पाइएकोले स्वास्थ्यप्रति सचेतना फैलाउन शिविर आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख बिष्टले बताए । ‘चालकको स्वास्थ्य र गाडीको इन्जिन दुरुस्त भएन भने दुर्घटना हुन्छन्,’ उनले भने, ‘त्यसैले चालकलाई स्वास्थ्यप्रति सजग तुल्याउन परीक्षण शिबिर आयोजना गरेका हौं ।’उनले भने ।

शिबिरमा जिल्लामा रहेको पश्चिम नेपाल बस व्यवसायी प्राली, ट्रयांक, ट्यांकरसित सरोकार राख्ने संस्थामा प्रतिनिधि सहभागी भएका थिए । यातायातसित सरोकार राख्ने संस्थाले आफ्ना चालकको नियमित स्वास्थ्य परीक्षण गरुन् भनेर सन्देश फैलाउन यस्तो कार्यक्रम आयोजना गरिएको प्रहरी निरीक्षक विष्टले बताए ।