भैरहवा पौष ५/
बजारमा ईट्टाको माग न्यून हुदा रुपन्देहीको ईट्टा उद्योग धराशायी हुने अवश्थामा पुगेको ब्यावसायिहरु बताएका छन् ।
बैंकको चर्को ब्याज, स्थानिय तहहरुको मनपरी तरिकाको कर, कच्चा पदार्थको अभाव लगायतको समस्याका कारण ईट्टा उधोग धरासायि अवस्थामा पुगेको लुम्बिनी ईट्टा उद्योग ब्यवसायी संघका अध्यक्ष अजय कुमार गुप्ताले बताउनु भयो ।
लुम्बिनी ईट्टा उद्योग ब्यवसायी संघले शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी ब्यवसाय जोगाउन सहयोग गर्न सरकार संग आग्रह गरेका छन् । संघका अध्यक्ष अजय कुमार गुप्ताले पुस महिनामा पनि उद्योगीहरु निराश हुनुपरेको बताउनु भयो ।
रुपन्देहीमा रहेको ५२ वटा ईट्टा उद्योग मध्ये २५ प्रतिशत पनि सञ्चालनमा आउन नसकेको गुप्ताले बताउनु भयो । जिल्लामा करिब ८ करोड गोटा मात्र ईट्टा मौजदात रहेका छन् । यस पटक रुपन्देहीको हिरो इट्टा उद्योग, एभरेष्ट इट्टा उद्योग र जेएम इट्टा उद्योगले मात्र उत्पादनको लागि प्रक्रिय सुरु गरेको उहाले जानकारी दिनु भयो ।
लामो समय सम्म तराइमा घाम नलागेको कारण उत्पादन गर्न सुरसार गर्ने उद्योगहरुले पनि उत्पादन गर्न नपाएको गुप्ताको भनाई छ । चलेको इट्टा उद्योगहरु पनि ५० प्रतिशत भन्दा कम उत्पादन गर्ने अवश्था रहेको उहांको जिकिर छ । संघका अध्यक्ष गुप्ताले यसले समग्र उद्योगीहरुको आर्थिक चक्र नै प्रभावित बनेको बताउनु भयो ।
अहिलेको अवश्थामा सरकारले मूल्य अभिवृद्धि करमा लाग्ने हर्जाना तथा स्थानिय तहहरुले बढाएको बिभिन्न कर हटाईदिन आग्रह गर्नु भयो । संघका महासचिव दिपक पौडेलले भएको मौज्दात ईट्टाहरु बैंकहरुको दबाबको कारण सस्तोमै बेच्नु परिरहेको बताउनु भयो । ८ देखि १० वटा ईट्टा उद्योगहरु लिलामीमा चढेको अवश्था छ उहाले भन्नु भयो । रुपन्देहीमा उत्पादन हुने इट्टा पाल्पा, गुल्मी, पोखरा, काठमाण्डौँ लगायत विभिन्न स्थानमा जाने गर्दछ ।
चिसो मौषमको लागी प्रत्येक वर्ष मंसिर देखि र माघ देखी जेठ महिना सम्म गर्मी यामको लागी उद्योग संचालन हुने गर्दछ भने बाँकी महिना वर्षाका कारण इट्टा उद्योगहरु बन्द रहने गर्दछन् । प्रत्येक वस्तुको विमा हुने गरेपनि सरकारको नीतिका कारण काँचो इट्टाको विमा नहुने हुदाँ वर्षेनी करोडौँ रुपैयाँको नोक्सानी बेहोरदै आएको नेपाल ईट्टा उद्योग व्यवसायी महासंघका सल्लाहकार हरि प्रसाद अधिकारीको भनाई छ । ब्यवसायीहरुले आफ्नो तरिका अनुसार काँचो ईट्टा जोगाउन खोजे पनि त्यो लगानी जोगाउनको लागी प्रयाप्त हुन नसकेको अधिकारीले बताउनु भयो ।