भैरहवा पौष २/
सिद्धार्थ गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायहरूसँग सोमबार छलफल गरेको छ।
सिंहदरबारस्थित मन्त्रालयमा आयोजित छलफलमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई कसरी नियमित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका महाप्रबन्धक हंशराज पाण्डेले बताए।

पर्यटनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बसेको बैठकमा पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, श्रम रोजगार तथा नागरिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, नेपाल नागरिक उड्डयन प्रधिकरणका महाप्रबन्धक प्रदीप अधिकारी, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष तथा धर्ना कार्यक्रमका संयोजक चन्द्रप्रकाश श्रेष्ठ थिए।


कार्यक्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले विमानस्थल सञ्चालन, चुनौती र अवसरका विषयमा प्रस्तुति गरेका थिए। यस्तै, नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक अधिकारीले भैरहवा विमानस्थलबाट उड्ने प्यासेन्जर शुल्क घटाएर तथा त्रिभुवन विमानस्थलबाट उड्ने प्यासेन्जरको विमानस्थल शुल्क बढाएर भैरहवाको विमानस्थललाई नियमित गराउन प्रस्ताव राखेका थिए।
कार्यक्रममा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भैरहवाबाट नोयडा विमान सञ्चालन गर्न आफू तयार रहेको बताए। केन्द्र सरकारले विकेन्द्रीकरणको नीति नलिँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए। संघले अझै पनि राजधानीकेन्द्रित काम गर्दा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आउन नसकेको उनको भनाइ थियो।

मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सबै सरकारले गर्छ भनेर बस्न नहुने बताए। सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले राजधानीका केही व्यक्तिहरूको दबाबका कारण विमानस्थल सञ्चालन हुन नसकेको बताए। विमानस्थलसँंग सरोकार राख्ने सबै निकायहरू तत्काल भैरहवामा खोल्नुपर्नेमा उनले जोड दिए। विमानस्थललाई हेरेर भैरहवाका व्यवसायीहरूले अर्बौं रुपैयाँ लगानी गरेको र त्यो ढुब्ने अवस्थामा आएको ज्ञवालीले बताए।
सिद्धार्थ सञ्जालका वरिष्ठ उपाध्यक्ष तथा धर्ना कार्यक्रमका संयोजक चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल सञ्चालनमा संघीय सरकारबाटै असहयोग भएकाले सरकार गम्भीर बन्नुपर्ने बताए। ‘हामी भैरहवामा सात हजार पर्यटकहरूलाई एकैसाथ स्वागत गर्न सक्दछौँ,’ पूर्वाधारको कुनै कमी छैन,’ संयोजक श्रेष्ठले भने, ‘हामीलाई अवरोध होइन, सहजीकरण चाहियो।’
अन्तर्राष्ट्रिय उडानमा रहेका विमानहरूलाई भैरहवा जानै पर्ने बाध्यकारी नीति बनाएर भैरहवा पठाउन उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले मन्त्री किराँतीलाई सुझाव दिए।
सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बाहिरी पूर्वाधार छैन भनेर प्रचार गर्नु गलत भएको बताए।
छलफलमा बोल्दै पर्यटनमन्त्री किराँतीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनेका ढुक्क रहन आन्दोलरत पक्षलाई आग्रह गरे। ‘म आजैदेखि काममा लागेँ। यसको रिजल्ट तपाईंहरूले तुरुन्तै देख्नुहुनेछ,’ उनले भने। उनले विमानस्थल नियमित गर्ने विषयमा सबै निकायसँग छलफल सुरु भएको भन्दै अब छिट्टै भैरहवा–दिल्ली र भैरहवा–नोयडा उडान गर्नेै जानकारी दिए। उनले भैरहवाको विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्ने कम्पनीलाई जिम्मेवारी दिई उक्त कम्पनीले एउटा उडान जसरी पनि अनिवार्य गर्ने गरी कार्यान्वयन गर्ने तयारीमा रहेको पनि उनले बताए।