भैरहवा, १ पुस ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको युगमा सबै चीज राजधानीमा मात्र केन्द्रीत नगरेर नहुने बताएका छन् । उनले मुलुकको राजधानी काठमाडौं प्रशासनिक केन्द्र र ऐतिहासिक स्थल भएको तर सबै चीज राजधानीमा केन्द्रीत गर्नुपर्छ भन्ने सोच राख्न नहुने बताए ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा. भट्टराईले आधुनिक अर्थतन्त्रका केन्द्रहरु अब काठमाडौंमा मात्र केन्द्रीत हुन नसक्ने बताए । उनले प्रतिष्पर्धी अर्थतन्त्रमा आफ्नो क्षेत्रमा अरुलाई पस्न दिदनौं भन्ने सोच राखे त्यौ आधुनिक अर्थतन्त्रसँग मेल नखाने बताए ।
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि श्रम भिसा सेन्टर, श्रम कार्यालय, स्वास्थ्य केन्द्र लगायतका पूर्वाधार स्वतः रहनुपर्ने बताए । उनले एअर रुटका लागि भारत सरकारसँग केन्द्र सरकारले उच्चस्तरमा पहल गर्नुपर्नेमा जोड दिए । विमानस्थल पूर्ण सञ्चालनका लागि साथ, सहयोग र पहल गर्ने उनले बताए । विमानस्थल नियमित सञ्चालन हुन नसके सरकार र निजी क्षेत्रको खरबौंको लगानी डुब्ने चिन्ता रहेको उनको भनाइ छ ।
उनले भने, ‘लुम्बिनी–कपिलवस्तु क्षेत्र नेपालको सबैभन्दा ठूलो आर्थिक विकासको केन्द्र बन्न सक्छ ।’ सरकारले उत्पादन गर्ने र रोजगारी सिर्जना गर्ने क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग राख्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीले मंसिर २४ गतेदेखि विमानस्थलको प्रवेशद्वार अगाडि धर्ना सुरु गरेको छ ।
डा. भट्टराईले विशेष आर्थिक क्षेत्र (सेज) हालसँग राम्रोसँग सुचारू हुन नसक्दा आर्थिक विकास र रोजगारी सिर्जनामा असर पुगेको बताए । उनले पूर्वाधार बनाएर खाली राख्न नहुने बताए ।
कार्यक्रममा सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवाली, उपाध्यक्ष विष्णु प्रसाद शर्मा, महासचिव संजय बजिमय, सह–कोषाध्यक्ष मधु प्रसाद पन्थी, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेलगायतले बोल्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गरिदिन पूर्वप्रधानमन्त्री डा. भट्टराईसँग आग्रह गरे ।