भैरहवा, १४ कार्तिक ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको व्यवस्था मिलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले यथाशक्य विमानस्थल नियमित र पूर्ण सञ्चालनका लागि कुटनीतिक पहलकदमी गर्न तथा नेपाल सरकारको स्वामीत्व रहेको नेपाल वायुसेवा निमगको जहाजहरुबाट उडान भर्न अपील गरेको हो ।
विमानस्थल सञ्चालनमा नआए यहाँका आम नागरिक, उद्योगी व्यवसायी, विभिन्न संघ–संस्था विमानस्थलमा धर्ना दिन, आन्तरिक उडान ठप्प पार्नेसम्मका दबाबमूलक आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।
‘यथाशक्य विमानस्थल सञ्चालनको व्यवस्था मिलाउन र कार्गो सञ्चालन गर्न तथा वैदेशिक यात्राका लागि गरिने सम्पूर्ण विषयगत कार्यालयको स्थापना गर्न सञ्जालक सरकारको पूर्ण ध्यानाकर्षण होस् भन्ने चाहन्छ, ’ज्ञवालीले भने ।
लुम्बिनी प्रदेशको समृद्धिको मूल आधार मानिएको यो विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थललाई लक्षित गर्दै खोलिएको करिब १५ देखि २० वटा ठूला होटलहरु अहिले बैंकले लिलामी गरिसकेको अध्यक्ष ज्ञवालीले बताए । ‘यस्ता धेरै पर्यटन व्यवसायी छिटै सडकमा आउने निश्चित छ । एकातिर निजी क्षेत्रको अरबौ लगानी खेर गइरहेको छ भने अर्कोतर्फ एडिबीको करिब ४३ अर्ब लगानी जोखिममा छ, ’उनले भने ।
विमानस्थल सञ्चालनका लागि ठोस कदम नचाल्दा अब यहाँका उद्योगी व्यवसायी तथा आम नागरिकमा सरकारप्रतिको विश्वसनीयता घट्दै गइरहेको ज्ञवालीले बताए ।
ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले विमानस्थल सञ्चालनका लागि सरकार गम्भिर रहेको र यसबारे थप छलफल काठमाडौंमा हुने अश्वासन दिनुभएको ज्ञवालीले जानकारी दिए । ‘प्रधानमन्त्री प्रचण्डले सकारात्मक कुरा गर्नुभएको छ, काठमाडौं आउनुहोस् थप छलफल गरौंला भन्नुभएको छ । ’ ज्ञवालीले भने ।
त्यस्तै सञ्जालले विमानस्थल नियमित सञ्चालनको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र गृहमन्त्री सन्तोष कुमार पाण्डेयलाई पनि मंगलबार ज्ञापनपत्र बुझाएको छ ।
सोमबार सिद्धार्थ सञ्जाल रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी विमानस्थल सञ्चालनमा नआए आन्तरिक उडानदेखि बेलहिया नाका ठप्प पार्नेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।