Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

होटल व्यवसायीहरुका समस्या समाधानमा सरकारले प्राथमिकता दिनुपर्छ , व्यवसायी


  • लुम्बिनी चिन्तन
  • आश्विन १२, २०८० शुक्रवार
  • 2.3K
    SHARES

होटल व्यवसायीहरुका समस्या समाधानमा  सरकारले प्राथमिकता दिनुपर्छ , व्यवसायी

भैरहवा असोज ११
होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुकेले होटल व्यवसायीहरुका समस्या समाधानमा  सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । 
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको दशौ वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चुकेले समय सापेक्ष व्यवसायीहरु पनि व्यवसायिक हुनुपर्ने बताए । 
पर्यटनको पहिलो आधार होटल व्यवसायलाई सबै पक्षबाट संरक्षण गरिनु पर्ने बताउदै उनले प्रहरी प्रशासन र व्यवसायीबीच मित्रवत सम्बन्ध भएमात्र पर्यटन व्यवसाय फस्टाउन सक्ने बताए ।  होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले राज्यको गलत नीतिका कारण होटल व्यवसाय धरापमा परेको आरोप लगाए ।
राज्यले पर्यटन व्यवसायका लागि ठोस कदम चाल्न नसक्दा कोरोना पछि अधिकांश होटलहरु बन्द भई कयौं मजदुरको रोजगारी खोसिएको उनले बताए । जसका कारण नेपाली व्यवसाय छोडर विदेश पलायन हुन बाध्य भएको उनको तर्क छ । 
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका संस्थापक अध्यक्ष तथा उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले होटल व्यवसायी चिन्तित रहेको बताए । उनले भारतीय पर्यटकलाई २५ हजार भारु मात्र ल्याउन दिने प्रावधान अव्यवहारिक रहेको बताए । उनले पर्यटन प्रवद्र्धन नारामा मात्र सीमित गर्न नहुने धारणा राखे । रात्रीकालिन बजार सञ्चालन गर्नेतर्फ खासै काम हुन नसकेको उनको भनाइ छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गोरो छाला भएकालाई मात्र पर्यटक मान्नु गलत भएको बताए । उनले सबैभन्दा बढी खर्च गर्ने पर्यटक भनेकै भारतीय पर्यटक रहेको तर धेरै ठाउँमा चेकजाँचले पर्यटकले सास्ती खेप्नुपरेको बताए । अध्यक्ष श्रेष्ठले एक जनाले गल्ती गरे समग्र व्यवसायीलाई आरोपित गर्नु उचित नभएको बताए ।
भीम अस्पताल विकास समितिका अध्यक्ष तथा उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले पर्यटक भित्र्याउन सरकारको खासै नीति नभएको बताए । उनले रात्रीकालीन बजार सञ्चालनका लागि समिति बने पनि ठोस काम अघि बढ्न नसकेको बताए । २५ हजार भारु भन्दा बढी रकम लिएर आउन नपाउने प्रावधानले होटल व्यवसायी मर्कामा परेको उनको भनाइ छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले पर्यटकीय स्थलको प्रचारप्रसार गर्न अब व्यवसायीहरु देश दौडाहमा जानुपर्नेमा जोड दिए । उनले होटल व्यवसायी विस्थापित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।
नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले पर्यटक भित्र्याउने हो भने राज्य स्पष्ट हुनुपर्ने बताए । उनले जहाँ जे पायो त्यही गरेर पर्यटन प्रवद्र्धन हुन नसक्ने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेको बताए ।
लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले पर्यटक आएपछि पहिलो गन्तव्य होटल भएको बताइन् । उनले व्यवसायलाई मर्यादित बनाउन होटल व्यवसायीले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले पर्यटकको बसाइ लम्ब्याउने खालका कार्यक्रमहरु सञ्चालन गर्ने बताए । उनले विभिन्न स्तरका होटल तथा रेष्टुरेण्टहरुलाई संस्थामा आबद्धता गराउन पहल गरिने बताए ।

संगठनका निवर्तमान अध्यक्ष गणेश प्रसाद बेल्बासेले होटल व्यवसायीका समस्या नीतिगत रुपमा समाधान गर्नुपर्नेमा जोड दिए । उनले पर्यटन क्षेत्रलाई अगाडि बढाउनुपर्ने धारणा राखे ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले होटल व्यवसायीले व्यवसायलाई मर्यादित बनाउँदै अब सामाजिक मुद्दालाई पनि बोक्नुपर्ने बताए । उनले होटल तथा रेष्टुरेण्ट व्यवसायका नाममा बाल श्रमलाई प्रोत्साहन तथा अवाञ्चित क्रियाकलाप गर्न नहुने बताए । उनले जायज कुराका लागि हातेमालो गर्ने बताए । 
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले नेपाल आउने भारतीय पर्यटकलाई रु. २५ हजार कम भएको बताइन् । उनले गलत कार्य गर्नेलाई व्यवसायीले संरक्षण गर्न नहुने र विकृति हटाउनुपर्ने बताइन् । नगर उपप्रमुख अधिकारीले एकआपसमा साथ, सहकार्य आवश्यक रहेको बताइन् । 
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेको अध्यक्षता, होटल व्यवसायी महासंघ, नेपालका अध्यक्ष दिनेश कुमार चुकेको प्रमुख आतिथ्यता, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष गणेश प्रसाद बेल्बासेको स्वागत, वरिष्ठ उपाध्यक्ष रामप्रसाद पोख्रेलको धन्यवाद ज्ञापन तथा महासचिव राजेश महोत्राको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 


नया नेतृत्व सर्वसम्मत चयन 


होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको  आगामी कार्यकालको लागि सर्वसम्मत नयां नेतृत्व चयन भएको छ ।
संगठनको दशौ वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन बाट सर्वसम्मतिमा नयां नेतृत्वको चयन भएको संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले बताए ।
नयां नेतृत्वका लागि अध्यक्ष पदमा रामप्रसाद पोख्रेल, बरिष्ठ उपाध्यक्षमा लिलाधर भट्टराई,  दुई उपाध्यक्षमा नरेन्द्र खनाल, दिनबन्दु खनाल, महासचिवमा बाल बहादुर घिमिरे, सचिवमा कल्पना न्यौपाने, कोषाध्यक्षमा दल बहादुर थापा, सहकोषाध्यक्षमा गुनाखर गौतम चयन भएका छन् ।
यसै गरी सदस्यहरुमा शुभराज गौतम, अर्जुन प्रसाद गौतम, रोमकान्त भट्टराई,पदम प्रसाद पन्त, हुमनाथ ढकाल, ज्ञानेश  गुरुङ्ग , शुशिल पौडेल चयन भएका छन् ।

 


लुम्बिनी चिन्तन

थप समाचार