भैरहवा साउन १७
लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेले बचतकर्ताहरुको रकम फिर्ता गराउने गरी कानुन निर्माणमा प्रदेश सरकार लागेको बताए ।
भैरहवामा बुधवार सहकारीबाट पीडितहरुले जम्मा भएको रकम फिर्ता पाउन नसकेको, सम्बन्धित निकायमा जांदा पनि आफूहरुको कुरा सुनुवाइ नभएको, पैसा फिर्ता नहुंदा आर्थिक संकटमा परेको गुनासो सुनेका मन्त्री पाण्डेले बचतकर्ताहरुको रकम फिर्ता गराउने गरी लुम्बिनी प्रदेश सरकारले कानुन निर्माण गर्न लागेको बताएका हुन ।
विभिन्न सहकारीहरुले रुपन्देहीको बिभिन्न स्थानहरुमा बचतकर्ताबाट संकलन गरेको करोडौं रुपैया फिर्ता नगरी फरार भएपछि बचतकर्ताहरु विचल्लीमा परेका छन् । सर्वसाधारणले बचत गरेको रकम फिर्ता नगरी सहकारी बन्द गरेर फरार सञ्चालकलाई कानूनी दायरामा ल्याइने उनले बताए ।
आम नागरिकको पैसा डुबाउने कार्यमा लाग्ने त्यस्ता सहकारीका सञ्चालकलाई कानूनी दायरामा ल्याउन प्रदेश सरकारले ऐन, कानून बनाएर प्रक्रिया अगाडि बढाउने बताए ।
स्थानीयस्तरमा सञ्चालित सहकारीमा कम समस्या देखिए पनि काठमाडौंलगायत बाहिरबाट आएर सञ्चालित सहकारीको गतिविधिबाट जनताले सास्ती खेप्नुपरेको उनले बताए ।
स्थानीय व्यतिmहरुबाट संचालन गरिएका सहकारीहरुमा धेरै समस्या नरहेपनि बाहिरबाट आएर सटर भाडामा लिएर बसेका सहकारीहरुले धेरै व्याज दिने लोभमा बचतकर्ता फसेकोले सचेतना पनि आवश्यक रहेको भन्त्री पाण्डेको भनाई थियो ।
समस्या समाधानका लागि एक्लाएक्लै अघि बढ्नुभन्दा सामूहिक रुपमा अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले सर्वसाधारणले सहकारीमा जम्मा गरेको पैसा फिर्ता नहुँदा अध्ययन, उपचार तथा घरासायी प्रयोजनको लागि गरिने खर्चमा समेत मर्का परेको आफूले राम्रोसंग बुझेको बताए ।
पीडित बचतकर्ताहरुको बचत लगत र ठगी गर्ने सहकारीका विषयमा विवरण संकलन गर्दै कार्यक्रम संयोजक, सिद्धार्थ युवा संजालका अध्यक्ष एवम् गृहमन्त्री पाण्डेयका राजनीतिक सल्लाहकार तथा बैजनाथ गुप्ताले सहकारीका संचालकको सम्पत्ती रोक्का गराएरै भएपनि बचतकर्तालाई न्याय दिलाएरै छोड्ने बताए ।
साना व्यवसायी, मजदूर, ठेला व्यवसायी तथा दैनिक मजदूरी गरेर जीविकोपार्जन गर्ने नागरिकले जम्मा गरेको ५० हजारदेखि लाखौं रुपैयाँ सहकारीबाट फिर्ता नभएको गुप्तले बताए । बैजनाथ गुप्ताको सञ्चालनमा भएको कार्यक्रममा मनोज कुमार ढाडी, अनिरुद्र अग्रहरी, उमेश अग्रहरी, श्रवण कान्दु, शुभम शुक्ला, पुरुषोत्तम केशरीलगायत सहकारीबाट पीडित नागरिक, स्थानीयबासी लगायतको सहभागीता रहेको थियो ।