भैरहवा असार १६/
रातभरीको अविरल बर्षाले तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ।
बाढी मापन केन्द्रका अनुसार बिहान ८ बजे तिनाउ नदिले खतराको तह पार गरेको हो। केन्द्रका अनुसार बिहान गरिएको मापन अनुसार तिनाउ नदिको पानिको सतह ६.८८ मिटर पुगेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार रूपन्देही र पाल्पा, आसपासका क्षेत्रहरूमा भारी वर्षा भएकाले तिनाउ नदीमा बाढी आएको छ।

महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ। तिनाउ नदीको जलसतह ६.८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले तिनाउले खतराको संकेत पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे जानकारी गराई सतर्क रहन भनिएको बताए।

तिनाउले खतराको तर पार गरेपनि अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको उनले जानकारी दिए।
‘विशेषगरी खोला किनारमा रहेका घरहरूमा नबस्न भनेका छौं, सबै स्थानीय सरकारलाई यसबारे सूचित गराई सतर्क अवस्थामा राखेका छौं,’ उनले भने।
प्रमुख जिल्ला अधिकारी पाण्डेले सुरक्षाका तीनै निकायलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको बताए। विपद् उद्धार टोली र रेडक्रसलाई पनि तयारी अवस्थामा रहन भनिएको उनले जानकारी दिए।