लुम्बिनी, बैशाख २२ ।
प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दे दिगो विकासका लागि सरकारले गुरुयोजना बनाएर विकास गरिने बताएका छन् । लुम्विनीको द्रुत विकासका लागि सरकारले लुम्विनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्विनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको उनले बताए ।

२५६७ औं बुुद्धजयन्ती एंव लुम्बिनी दिवस २०८० बिशेष समारोहलाई शुुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयबासीलाई विकासको प्रतिफल दिलाउने गरि काम गर्ने बताए । उनले सरकारले २०६८ सालमा गठन गरेको बृहत्तर लुम्बिनी राष्ट्रिय निर्देशक समितिकोे अध्यक्षको हैसियतमा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आफूू न्युयोर्क पुगेर संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव बान कि मुनसँग समेत बृहत्तर लुम्बिनी क्षेत्रको दिगो विकासका लागि छलफल गरेको स्मरण गरे ।
प्रधानमन्त्री दाहालले सम्भावित विश्व सम्पदा सूचीमा सन् १९९६ देखि सूचीकृत प्राचीन कपिलवस्तुको राजधानी शहर तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी प्राचीन स्मारक संरक्षण क्षेत्र बताए ।

प्रधानमन्त्री दाहालले पपछिल्लो समय अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको बताए । ‘संसारका प्रायः सबै धर्म–संस्कृतिले जीवन र जगत्को सारतत्व मनन गरेर उज्यालो पक्षको अनुसरण गर्न प्रेरित गर्छन् ।
दार्शनिक दृष्टिले यस दर्शनको सबैभन्दा महत्वपूर्ण विषय प्रतीत्य–समुत्पाद हो । यसको शाब्दिक अर्थ हो, सापेक्ष कारणतावाद अर्थात् कुनै एक वस्तुको उपस्थितिमा अर्को वस्तुको उत्पत्ति हुनु । शून्यता र भविता अर्थात् केही नहुनुको भावार्थमा केही हुनु भन्ने आयामको गहनतालाई प्रतीत्य–समुत्पादले बुझाउँछ’ प्रधानमन्त्रीले भने ।
उनले अनात्मा र अनित्यलाई स्वीकार गर्ने वैभाषिक र सौत्रान्तिक सिद्धान्तले वस्तुको परिवर्तित गुणलाई स्वीकार गरेको बताए । ‘दार्शनिक दृष्टिले प्रतीत्य–समुत्पादभित्र ३ दाशर्निक पक्ष छन्, अनीश्वरवाद, अनित्यवाद र क्षणिकवाद । मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्ग अनुशरण गर्दा जीवनको उत्तरार्धमा बुद्धका अनुयायी भएको प्रसङ्ग हाम्रो सन्दर्भमा विशेष स्मरणीय छ’ उनले भने ।