भैरहवा चैत्र २५/
होटल पौवा प्रालिले सातौ स्थापना दिवसका अवसरमा बिभिन्न कार्यक्रम गरेको छ । पौवाका देशभर रहेका शाखाहरुमा सामाजिक उत्तरदायित्व अन्तरगतका कामहरु भएको सुभओम कम्पनी प्राली भैरहवाका अध्यक्ष हरी बहादुर थापाले बताए ।
होटल स्थापनाको सातौं वर्ष पुगेको अवसरमा पौवाले मुलुकभर रहेका आफ्ना शाखाहरुबाट फरकफरक काम गरेर सामाजिक उत्तरदायित्व बहन गरेका हुन् ।

शनिबार भैरहवाको होटल पौवाले भीम अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरेको छ । अस्पतालमा उपचारमा आएका सबै विरामीलाई फलफूल वितरण गरी भैरहवा शाखाले स्थापनाको सात वर्ष पुगेको अवसरका सामाजिक कार्य गरेको थापाले जनाए । यस्तै, अन्य १० शाखाहरुले पनि कुनै न कुनै क्षेत्रमा सहयोग गरेर सातौं स्थापना दिवस मनाएको उनले बताए ।

मिसन १ सयको यात्रामा निरन्तर अगाडि बढेको होटल पौवाले ७ वर्षको अन्तरालमा ११ वटा शाखा संचालनमा ल्याएको छ । पौवाका भैरहवासहित बुटवल, पाल्पा, रेसुंगा, गोरुसिंगे, भालुवाङ, घोराही, जुम्ला, पोखरा, लमही लगायतका स्थानमा शाखा खुलिसकेका छन् । आगामी दिन मुलुकभर एक सय शाखा पुर्याउने लक्ष्य पौवाले राखेको संचालकले बताएका छन् ।
शनिबार भैरहवास्थित होटलबाट र्यालीसहित बजार परिक्रमा गर्दै भीम अस्पताल पुगेर विरामीलाई फलफूल वितरण गरिएको थियो । र्यालीमा होटल संचालकदेखि कर्मचारीसम्म सहभागी थिए ।

होटलका सबै शाखाले शनिबार अस्पताल, अनाथ आश्रम, गरिब तथा विपन्न परिवार लगायतलाई सहयोग गरेको थियो ।
स्थापना दिवस मनाउन पौवामा आवद्ध कर्मचारी, लगानीकर्ता र शुभचिन्तकहरु नेपाली खाना हाम्रो गौरव, नेपाली खानामा नेपाली उत्पादन प्रयोग गरौं, नेपाली पोशाक हाम्रो पहिचान, म नेपाली खाना मन पराउँछु, म नेपाली उत्पादन प्रयोग गर्छु जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रभातफेरिमा निस्केका थिए । पौवाले अघिल्लो साता मात्र आफ्नो एघारों शाखा पोखरामा उदघाटन गरेको थियो भने १२औं शाखा काठमाडौंको गौशालामा खोल्ने तयारी पुरा भएको होटलका अध्यक्ष दुर्गा भण्डारीले जानकारी दिए । १० वर्षमा १०० शाखाको अभियानमा पौष अगाडि बढी रहेको उनले बताए ।