भैरहवा माघ ७,
लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपालले भैरहवामा स्थित भीम अस्पताललाई ४० लाख बढीको बिभिन्न स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ ।
शनिबार अस्पतालमा एक कार्यक्रमको आयोना गरी अत्याधुनिक अल्ट्रासाउण्ड मेशिन र २ वटा इसीजी मेसिन प्रदान गरिएको हो । उपकरण राखिएका कार्यकक्षको शनिवार पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले उद्घाटन गरेका छन् । उपकरण कक्षको उद्घाटन गर्दै नेता खांडले मृत्युको मुखमा पुगेको व्यतिmलाई जीवन दिने र छुटिएका हड्डी जोड्ने अस्पतालमा अत्याधुनिक उपकरण प्रदान गर्नु धार्मिक, सामाजिक तथा मानवीय सबै हिसावले प्रसंशनीय कार्य रहेको बताए । यसबाट निम्न वर्गका जनताले लाभ लिनेमा आफु विस्वस्त रहेको बताए ।

स्वास्थ्य उपकरण हस्तान्तरण गर्दै लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले रुपन्देही कै सबैभन्दा जेठो अस्पताल भीम अस्पतालमा उपचारार्थ आउने बिरामीले स्वास्थ्य जांच उपकरणको अभावमा उपचार गर्नदेखि बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको बताए । सहयोग गरिएका उपकरणको संरक्षण गर्न अस्पताल प्रशासनलाई ध्यानाकर्षण समेत गराए ।
कर्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शकुन्तला गुप्ताले लायन्स क्लबले उपलब्ध गराएका स्वास्थ्य उपकरण तत्कालै संचालनमा ल्याइने र यसबाट सुलभ शुल्कमा सर्वसाधारणले सेवा पाउने बताइन् । उनका अनुसार, अस्पतालबाट उपलब्ध गराइने स्वास्थ्य सेवा लगायतका विभिन्न परीक्षणका सेवा बाहिर भन्दा धेरै सुलभ र बिशेषज्ञबाट उपलब्ध गराउने गरिएको छ ।
अस्पतालमा दैनिक २ सयदेखि २ सय ५० जनासम्म बिरामी ओपीडीमा आउने गर्छन् । प्रयोगशालाको सेवा लिने बिरामीको संख्या दैनिक १ हजार भन्दा माथि छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण भण्डारीले उपलब्ध गराइएका उपकरणको सही सदुपयोग गरि दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाए । आफुले अस्पताल विकास समितिको जिम्मेवारी पाए लगतै यसको गुणस्तरीयतामा ध्यान दिएको अध्यक्ष भण्डारीले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष पाण्डे, सिद्धार्थनगर नगरपालिकाका उपमेयर उमा अधिकारी, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपाने,विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बि.स. १९९० सालमा स्थापना भएको यो अस्पताल जिल्ला अस्पताल हो । निम्न वर्गका जनताले सेवा लिने गरेको यो असपताल कोभिड पछि गुणस्तरीय सेवा संचालनसंगै सबैको आर्कषणमा पर्ने गरेको छ ।