भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।
रुपन्देहीको मर्चवारी–७ कन्चनापुर प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकल सहित ३ जना पक्राउ गरेको हो । रुपन्देहीको सम्मरीमाई गाउँपालिका ९ बेतकुइयाका २४ वर्षिय सुरज हरिजन, सोही ठाउँका २३ वर्षिय तौलन हरिजन र सम्मरीमाई ७ भुन्डिहवाका २६ वर्षिय सहिल मुसलमानलाई प्रहरीले शनिबार साझ पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

प्रहरी चौकी पाण्डे पिप्रहवाबाट प्रहरी सहायक निरीक्षक कमलप्रसाद आचार्यको कमाण्डमा खटेका ३ जना र सशस्त्र बीओपी पुर्नीकोटबाट खटेका २ जना सशस्त्र प्रहरी जवानको संयुक्त टोलिले शंकालागी खानतलासी गर्दा उनीहरुलाई पक्राउ गरेको थापाले बताए ।
उनीहरुको साथबाट सवार यूपी ५५ एन ४९४९ नम्बरको भारतीय मोटरसाइकल, ३ वटा मोबाइल र गोली नभएको कटुवा पेस्तोल फेला परेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ ।