भैरहवा भदौ ८,/
रुपन्देहीमा मिटरब्याजबाट पीडित भएका २८ जनाले उजुरी हालेका छन् । रुपन्देहीको जिल्ला प्रशासन कार्यालयमा उनीहरुले उजुरी दिएका हुन् । सरकारले गत साउन २७ गते मिटरब्याज अपराध नियन्त्रणको लागि कार्यदल गठन गरेको थियो ।
मिटरब्याज पीडितले दिएको उजुरीबारे के कसरी अनुसन्धान तथा कारवाही अघि बढाउने भन्नेबारे भने गृहप्रशासनले कुनै निर्देशन दिइसकेको छैन । उक्त कार्यदलले कार्यविधि बनाएर परिपत्र गरेपछि मिटरब्याज पीडितका उजुरीउपर छानबिन हुने पाण्डेले बताए । भदौ ५ गतेपछि भने उजुरी लिएर कोहीपनि जिल्ला प्रशासन कार्यालय नआएको उनले बताए ।
यसअघि नवलपरासी पश्चिमका सुस्ता र प्रतापपुरका मिटरब्याज पीडितले काठमाडौंको माइतीघरमा दिनहुँ धर्ना दिन थालेपछि सरकारले कार्यदल गठन गरेर मिटरब्याज पीडितका समस्या अध्ययन गर्न लागेको हो । सरकारले उनीहरुसँग छलफल पनि गरेको थियो । देशभर मिटरब्याज पीडित र पीडकको खोजी गर्न सरकारले कार्यदल गठन गरेर काम अघि बढाएको हो ।
आर्थिक रुपमा अप्ठेरोमा परेका सोझा ब्यक्तिलाई मिटरब्याजमा लगाउनेहरुले उनीहरुको सम्पत्ति आफ्नो नाममा पास गराएर पैसा लगानी गरी चर्को ब्याज असुल्ने र पैसा तिर्न नसके सम्पत्ति नै हडप्ने गरेको देशव्यापी समस्या देखिएपछि सकारले यसलाई आर्थिक अपराधको रुपमा लिइ नियन्त्रणको प्रयास थालेको हो ।