भैरहवा भदौ ८,
रुपन्देहीको बेलहिया बाईपासमा लुटपाट गरि मोटरसाईकल यात्रिलाई गोली हानेर फरार भएका २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
साउन २९ गते रोहिणी गाउँपालिका वडा नम्बर १ मा बेलहिया बाइपास सडकमा रहेको न्यू सिद्धार्थ रेष्टुरेण्टमा लुटपाट गरि स्थानीय बिकास गुरुङ्ग माथी गोली प्रहार गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नम्बर ७ महुवारी बस्ने ३२ बर्षिय पवनराज भर र सिद्धार्थनगर नगर पालिका वडा नम्बर ४ दोगहरा बस्ने २१ बर्षिय मोहम्मद अरसद मुसलमान (काजु) पक्राउ गरेको रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

घटनामै संलग्न शुटर कृष्ण भुज भने फरार रहेको रेग्मीले बताए । प्रहरीले पक्राउ परेका भरबाट ७६ दशमलव एस७ आरएमओ मेड ईन युएसए लम्बर ७११११ लेखेको अटोमेटिक पेस्तोल समेत बरामद गरेको पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । यस्तै चोरी भएको मोबाईल फोन समेत बरामद भएको प्रहरीको भनाई छ ।
घटना विवरण अनुसार साउन २९ गते राती करिब पौने ११ बजे रोहिणी गाउँपालिका वडा नम्बर १ मा रहेको न्यू सिद्धार्थ रेष्टुरेण्टमा पसेर ३ जनाको समूहले हतियार देखाई नगद, सुनका गरगहना र मोबाईल समेत लुटपाट गरि बाईपास हुदै धकधई तर्फ भाग्दै गरेको अवस्थामा मोटरसाईकलमा यात्रा गरिरहेका गुरुड.लाई गोली हानी फरार भएका थिए ।
सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ बस्ने २८ बर्षिय बिकास गुरुङ्गले उनिहरुको गतिबिधि संकास्पद रहेकाले लुटेराहरुको पिछा गर्दै उनिहरुलाई रोक्न खोजेको प्रहरीको प्रारम्भिक भनाई छ । सोही क्रममा एकै मोटरसाईकलमा सवार ३ जना मध्ये बिचमा बसेका कृष्ण भुजले गुरुङ्ग माथि गोली प्रहार गरेको एसपी रविन्द्र रेग्मीले बताए ।
घाईते गुरुङ्गको भैरहवा स्थित मेडिकल कलेजमा उपचार भैरहेको छ । गुरुङ्गको अवश्था सामान्य छ । ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक जितेन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बेद बहादुर पौडेल र वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरिक्षक मधु नेपालको टोलीले घटनाको अनुसन्धान गरि २ जना अभियुक्तहरुलाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ परेका दुवै जनामाथि चोरी डकैती, ज्यान मार्ने उद्योग, हाथहतियार खरखजाना मुद्दा चलाईएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।