भैरहवा असार २६
सिभिल बैंक लिमिटेड भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ वडा समितिको कार्यालयलाई डस्टबीन बक्स हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमका बीच बैंकले वडा कार्यालयलाई १५ थान डस्टबीन बक्स हस्तान्तरण गरेको बैकका शाखा प्रबन्धक सरोज सापकोटाले बताउनु भयो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिदार्थनगर वडा कार्यालयलाई डस्टबीन बक्स वितरण गरेको बताउनु भयो । उहाले आगामी दिनमा पनि नगरपालिका तथा वडा कार्यालयसँग सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गर्नु भयो ।
सो अवसरमा बोल्दै समाजसेवी तथा उद्योगी बृजेश अग्रवालले सिद्धार्थनगरमा फोहोरमैला व्यवस्थापनको समस्या रहेको अवस्थामा बैकले गरेको सहयोग सराहनिय रहेको बताउनु भयो ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले घरबाट निस्केको फोहोर अरुको घर वा पसल अगाडि नफाल्न आग्रह गर्नु भयो । हामी सामाजिक प्राणी हौं, अनुशासमा बस्नुपर्ने हाम्रो दायित्व हो सडकपेटी पनि सामान नराखौ श्रेष्ठले भन्नु भयो । बैंकले हस्तान्तरण गरेका डस्टबीन बक्स वडाका बिभिन्न स्थानमा व्यवस्थित गर्दै आवश्यक स्थानमा राखिने उहाले बताउनु भयो ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले हाम्रो नगर, स्वच्छ नगर अभियान अन्तर्गत यो कार्यक्रम राम्रो सुरुवात भएको बताउनु भयो । समाजसेवी नारायण प्रसाद अग्रवालले नगरको सरसफाईमा ध्यान दिनुपर्ने बताउनु भयो । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका कार्यवाहक अध्यक्ष सतिष कुमार कौशलले फोहोरमैला व्यवस्थापनका लागि आवश्यक काम अघि बढाउन आफूले वडा कार्यालयलाई आग्रह गर्दै आएको बताउनु भयो । बैकले नगरको अन्य वडाहरुमा पनि डस्टबिन बितरण गर्ने जनाएको छ ।