भैरहवा असार २६/
प्रथम लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधि बाँके जिल्लाले जितेको छ।
दाङ तुलसीपुरस्थित बेलझुण्डी रंगशालामा सञ्चालित १२ औं संघीय तथा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १९ स्वर्ण ७ रजत र १० कास्य पदक जित्दै बाँकेले उपाधि जितेको हो। उसले लुम्बिनी प्रदेशको प्रथम सिल्ड चुम्ने अवसर पायो। प्रतियोगितामा बर्दिया ९ स्वर्ण, ९ रजत र १२ कास्य पदक जित्दै द्वितिय र ६ स्वर्ण, ११ रजत र १३ कास्य पदक जित्दै दाङ तृतिय भएको छ।
कपिलवस्तुले भने ६ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेको छ। प्रतियोगिता अन्तरगत कराँते छात्रमा गुल्मीका हिमाल क्षेत्री र छात्रामा दाङकी डोल्मा थापा उत्कृष्ट खेलाडी घोषित भए। एथलेटिक्स तर्फ छात्रमा बाँकेका युवराज बिक र छात्रामा दाङकी निशा चौधरी उत्कृष्ट भए।
छनोटमा परेका खेलाडीले यही असार २८ देखि ३० गतेसम्म सञ्चालन हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने अवसर पाउने छन्। आइतबार प्रतियोगिताको समापन समारोह लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईको अध्यक्षता तथा उर्जा जलश्रोत तथा सिँचाई राज्य मन्त्री अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको हो।
प्रतियोगिताको उद्घाटन भने ग्रामिण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले गरेका थिए। विजेता टिम तथा खेलाडीलाई शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।