भैरहवा असार १९
कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मीहरुले आइतबार अस्पतालको ओपिडी सेवा तीन घण्टा बन्द गराएका छन् ।
अस्पतालमा बिहान ९ बजेदेखि ११ बजेसम्म ओपिडी सेवा बन्द गरिएको भीम अस्पताल संघर्ष समितिका अध्यक्ष स्वास्थ्यकर्मी गोपाल उपाध्यायले बताए । सरकारले घोषणा गरेको जोखिम भत्ता पाउनुपर्ने माग गर्दै असार ७ गतेदेखि नै आन्दोलन सुरु गरे पनि सरकारले वेवास्ता गरेको उपाध्यायले बताए । उनले अस्पतालका १७४ जना स्वास्थ्यकर्मी मात्र नभइ जनता र विभिन्न संघ–संस्था पनि आफूहरुको साथमा रहेकाले आन्दोलनलाई कमजोर नठान्न आग्रह गरे ।
अध्यक्ष गोपाल उपाध्यायकाअनुसार भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी छ । अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्तावापतको रकम पाएका छैनन् । अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतका स्वास्थ्यकर्मीले गत असार ७ गते संघर्ष समिति बनाएर प्रशासन कार्यालय र सरकारसँग भत्ता पाउनुपर्ने माग गर्दै आएका छन् । तर अझैसम्म मागको सुनुवाई हुन सकेको छैन ।
संघर्ष समितिका सचिव जनकराज पन्तले स्वास्थ्यकर्मीहरुले गरेको आन्दोलनलाई तुहाउने प्रयास गरिएको बताए । शुक्रबार दुई घण्टा र आइतबार तीन घण्टा ओपीडी सेवा बन्द गरेका आन्दोलनरत स्वास्थ्यकर्मीले सोमबारदेखि पूरै समय ओपीडी बन्द गर्ने चेतावनी दिएका छन् ।
लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकास देवकोटाले महामारीको समयमा भीमसहित लुम्बिनी प्रादेशिक, राप्ती प्रादेशिक, पृथ्वीचन्द्र अस्पतालमा सेवा दिएका स्वास्थ्यकर्मीको भत्ता रोकिएको बताए ।