Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

खेलबाट दलहरुले स्वच्छ राजनीतिक प्रतिष्पर्धा सिक्नुपर्छ : विष्णु पौडेल


  • लुम्बिनी चिन्तन
  • आषाढ १२, २०७९ आइतवार
  • 328
    SHARES

खेलबाट दलहरुले स्वच्छ राजनीतिक प्रतिष्पर्धा सिक्नुपर्छ : विष्णु पौडेल

बुटवल, ११ असार ।
पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले खेल प्रतिष्पर्धाबाट दलहरुले स्वच्छ राजनीतिक प्रतिष्पर्धा सिक्नुपर्ने बताएका छन् ।

मदन भण्डारी स्पोटर्स एकेडेमीको छात्राछात्रा भलिबल प्रतियोगिताको शनिबार बुटवलमा उद्घाटन गर्दै उनले राजनीतिमा देखिएको स्वार्थ र अस्वस्थ प्रतिष्पर्धा हटाउन खेलका विधि र तरिकाहरुलाई जस्तै स्वच्छ विधि अवलम्बन गर्नुपर्ने बताए । यसका लागि युवाहरु र अन्य क्षेत्रबाट समाजमा भूमिका खेलेका व्यक्तिहरुको पनि ठूलो सहयोग चाहिने उनले बताए ।

खेल स्वास्थ्य, अनुशासन, मनोरञ्जन र प्रतिष्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउँदै उनले सबैका लागि खेल गतिविधि गरिनुपर्ने बताए । एमाले नेतृत्वको सरकारले खेलको विकासका लागि प्रदेशस्तरीय खेलमैदान, एक पालिका एक खेलमैदान कार्यक्रम र खेल पूर्वाधारको स्तरोन्नति गरेको उनले सम्झे ।

पौडेलले बुटवलमा अन्तर्राष्ट्रियस्तरको खेलकुद कम्प्लेक्सको माग भएको बताउँदै त्यसको निर्माणका लागि आफूले् अगुवाइ गर्ने बताए । ‘खेलमैदान, खेल पूर्वाधारको अभावमा खेलाडीहरुले गतिविधि गर्न नपाउने अवस्था हुनुहुँदैन, ’उनले भने । प्रतिष्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारबाट प्रभावित मदन भण्डारी एकेडेमीले खेल गतिविधि गर्न देश युवाहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

कार्यक्रममा बोल्दै नेसनल नेपाल अस्पताल काठमाडौंका अध्यक्ष डा. प्रकाश पौडेलले एकेडेमीका खेलाडी र सदस्यलाई उपचारमा २५ प्रतिशत छुट र एम्बुलेन्स छुटसहितका सुविधाको घोषणा गरे ।

मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले ७१ औं मदन जयन्तीका अवसरमा भएका प्रतियोगिता र खेल गतिविधिबारे जानकारी दिए । प्रतियोगिताका संयोजक बुद्धि बस्यालले प्रतियोगिताबारे जानकारी दिए ।

मदन भण्डारी स्पोटर्स एकेडेमीद्वारा भलिबल प्रतियोगिता सुरु 

सबैका लागि खेल भन्ने नारासहित मदन भण्डारी स्पोटर्स एकेडेमीले सञ्चालन गरेको उच्चमावि स्तरीय भलीबल प्रतियोगिताको शनिबार उद्घाटन भएको छ । बुटवलको सिद्धेश्वरी लालकुमारी माविको खेलमैदानमा भएको प्रतियोगिताको पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरे ।

खेल उद्घाटन गर्दै उनले खेल स्वास्थ्य, अनुशाशन, मनोरन्जन र प्रतिष्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताए । 


उद्घाटन सत्रमा आयोजना गरिएको मार्च पासमा कालिका मानव ज्ञान मावि उत्कृष्ट हुँदै नगद १० हजार रुपैयाँसहित ट्रफि प्राप्त गरेको छ । नवज्योति मावि सान्त्वना हुँदै २ हजार रुपैयाँ नगदसहित ट्रफि प्राप्त गरेको प्रचार विभाग संयोजक अमृता अनमोलले बताइन् । 

भलिबलतर्फ छात्रमा १८ र छात्रामा ११ टिमले भाग लिएका छन । चेसमा एक सय बढीले भाग लिएका छन । बेष्ट अफ थ्रिको आधारमा नटआउट प्रतियोगितामा खेलाइएको हो । 

भलिबलतर्फ प्रथम हुने टीमले नगद ५० हजारसहित कप, मेडल, प्रमाणपत्र, द्वितीय टीमले नगद ३० हजार रुपैयाँ, तृतीय हुने टीमले नगद २० हजार तथा सान्त्वना टीमले नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने भलिबल खेल संयोजक बुद्धि बस्यालले बताए ।

पहिलो दिन ५ वटा छात्रा र १ वटा छात्र गरी ६ वटा भलिबल खेलहरु सम्पन्न भएका छन । छात्रतर्फ भएको खेलमा गिवार्ण माबिले हरैया माविलाई २–० को सोझो सेटमा पराजित गदै दोस्रो चरणमा प्रवेश गरेको छ । छात्रातर्फ नवज्योति मावि तिलोत्तमाले सगरमाथा इङलिस बोर्डिङ स्कूललाई २–१ को सेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । 

त्यसै गरी कान्ति माविले सिद्धेश्वरी लालकुमारी माविलाई २–० को सोझो सेट, कुवरवर्ती बोर्डिङ स्कुलले सिद्धार्थ बोर्डिङ स्कूललाई २–० को सोझो सेट, न्यु होराइजन माविले बुद्ध पब्लिक विद्यालयलाई २–० को सोझो सेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार