भैरहवा असार १०,
सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को प्रस्तावित आय व्यय विवरण एवम् नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७९/८० मा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँड, समपूरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, आन्तरिक आयबाट समेतबाट गरि १ अर्ब ३४ करोड ५४ लाख ३५ हजार हुने अनुमान गरेको छ ।
यसै गरि आधारभूत स्वास्थ्य सुविधा, शैक्षिक विकास र समावेशी विकासमा टेवा पुर्याउने कार्यक्रम संचालन गरिने बताइन । कृषि, पर्यटन, सहकारी जस्ता आर्थिक विकासका क्षेत्रमा जोड दिइ रोजगारी सिर्जना र आयआर्जन वृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने कार्यक्रम सञ्चालन गरिने अधिकारीले बताइन । नगरको सौन्दर्यीकरण, सरसफाइ, वातावरणीय संरक्षण तथा पर्यावरणीय प्रवर्द्धन कार्यमा जोड दिईने उल्लेख गरिएकोछ । संस्थागत विकास र सुशासन प्रवर्द्धनमा जोड दिई नागरिकमैत्री सेवा प्रवाह गरिने दाबी छ । नगरपालिकाले जेष्ठ नागरिक आश्रय/ मिलन केन्द्र स्थापना गर्न १० लाख र सडक मानवमुक्त नगर बनाउन ३ लाख बजेट बिनियोजन गरिएको छ । यस्तै छाडा चौपाया ब्यवस्थापन गर्न कान्जी हाउस निर्माणका लागि १ करोड बिनियोजन गरिएको छ ।
बोटानिकल गार्डेनको डिपिआर निर्माणको लागि २० लाख र निर्माणाधिन नगर पालिकाको लागि ५ करोड ८० लाख बिनियोजन गरिएको छ । यसैगरि नगर पालिकाले पशुपन्छी विकासतर्फ गाई भैसिको स्वच्छ दुध उत्पादन, चापाकटर वितरण, विभिन्न खोप सेवा, कृत्रिम गर्भाधानका लागि सामग्री तथा तरल नाइट्रोजन खरीद तथा ढुवानी, घाँसको बिउँ वितरण, नश्ल सुधारका लागि बोका वितरण, भकारो सुधार, गोठ सुधार, रोग नियन्त्रण तथा बाख्रापालन तालिम, माछाको भुरा तथा दाना वितरण, मिनरल तथा भिटामिन वितरण कार्यक्रम र कुकुर बन्ध्याकरणका लागि एकमुष्ठ ४६ लाख ७५ हजार विनियोजन गरेको छ । नगरपालिकाले आजै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरम मेयर सामुहिक बिवाह कार्यक्रम गरि फजुल खर्च नियन्त्रण गर्ने जनाएको छ ।
नगर प्रमुख इश्तियाक अहमद खाले नगरपालिकाले बिकास निर्माण काममा साना टुक्रे योजनालाइ निरुत्साहित गरि ठूला र देखिने खालका योजना सन्चालन गर्ने नीति लिएको जनाए । नगरलाई क्लिन सिटि, ग्रीन सिटि र वातावरण मैत्रीको रुपमा विकास गरिनेछ। सिद्धार्थनगरलाई सधै हराभरा तथा वातावरणीय सन्तुलन राख्न नगर क्षेत्र भित्र रहेका सार्वजनिक स्थलहरुमा वृक्षारोपण कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।