भैरहवा असार १० ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्ध शिक्षा, साहित्य र इतिहासलाई देश विकाससँग जोड्न आग्रह गरेका छन् । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति समेत रहेका देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताए ।
प्रधानमन्त्री देउवाले बौद्ध उच्च शिक्षालाई देशको स्रोतसाधन, सम्भावनासँग जोडेर देश विकासमा लगाउनुपर्नेमा जोड दिदै आवश्यकता र प्राथमिकताका आधारणमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री देउवाले बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताउँदै बौद्ध दर्शन, कला, शिक्षा, साहित्य तथा संस्कृतिको मूल स्रोतका रुपमा आफूलाई सिद्ध गर्नुपर्ने चुनौतीलाई अबसरका रुपमा बदल्न जरुरी रहेको बताए ।
प्रधानमन्त्री देउवाले बौद्ध विविधतालाई समाजको सकारात्मक रुपान्तरणसँग जोड्दै समाजको सिर्जनशील सदस्यका रुपमा आफूलाई स्थापित गर्न दीक्षित अग्रसर रहने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले लुम्बिनी बौद्ध विश्वविद्यालय बुद्ध जन्मस्थल लुम्बिनीमै हुनु भनेको विश्वविद्यालयको अपूर्व महत्व रहेको बताउँदै यस विश्वविद्यालयले बौद्ध अध्ययनका विभिन्न विधाको अध्ययन अध्यापन गराउनुका साथै दैनिक जीवन एवं चिन्तनशैलीको अभिन्न अंग हुने गरी बौद्ध शिक्षाको देशव्यापी प्रचारप्रसारबाट समृद्ध मुलुक निर्माणको अभियानलाई सार्थकता दिन शिक्षाले महत्वपूर्ण भूमिका निभाउनुपर्नेमा जोड दिए । यसका साथै उनले बौद्ध पर्यटनका क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गरी बौद्ध रोजगारीलाई प्रश्रय दिने किसिमका नीति बनाउँदै अघि बढ्नुपर्ने बताए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलले सरकारले शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्ने बताए ।
विश्वविद्यालयबाट उत्पादित जनशक्ति देश विकासमा जोडिने वातावरण निर्माण हुन आवश्यक रहेको उनले उल्लेख गरे ।
‘हाम्रा विश्वविद्यालयलाई सक्षम छ भन्ने प्रत्याभुति गराउन नसके अबको ५/७ बर्ष पछि विभिन्न बहानामा युवाजनशक्ति नेपालमा नरहने देखिएको हुँदा हाम्रा विश्वविद्यालयहरु र शिक्षण संस्थालाई उत्कृष्ट बनाउँदै लैजानुपर्नेमा शिक्षामन्त्री पौडेलले जोड दिए ।
सो अवसरमा लुम्बिनी विश्वविद्यालयबाट विभिन्न चरणमा उत्तीर्ण भएका विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो ।