Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

संविधानको रक्षाका लागि गठबन्धन आवश्यक : गृहमन्त्री खाँण


  • लुम्बिनी चिन्तन
  • आषाढ ५, २०७९ आइतवार
  • 600
    SHARES

संविधानको रक्षाका लागि गठबन्धन आवश्यक : गृहमन्त्री खाँण

भैरहवा, ४ असार ।
गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बडो मुस्किलले बनाइएको संविधानको रक्षा गर्नका लागि गठबन्धन आवश्यक भएको बताएका छन् । उनले संविधानमा भएका कमीकमजोरीलाई परिमार्जन गर्न, संविधान अनुकुलको मौलिक अधिकारको कार्यान्वयन गर्न तथा कानून बनाउन गठबन्धन आवश्यक रहेकोमा जोड दिए ।

congress 1.jpg

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले कांग्रेससँग प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभामा एकल बहुमत नभएकाले जनताको समस्या समाधान गर्न अन्य राजनीतिक पार्टीहरुसँग हातेमालो गर्नैपर्ने बताए । उनले भने, ‘अन्य राजनीतिक दल जसलाई भरोसा दिएर सँगै हिंडलेका छौं, उनीहरुलाई पनि सुरक्षा दिनुपर्ने हुन्छ । ’ 

congress 3.jpg

कतिपयले गठबन्धन चाहिदैन र पार्टीका नेताहरुले पनि आवश्यक छैन भने पनि गठबन्धन अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । उनले विचार मिल्नेसँग गठबन्धन गर्नुपर्छ भन्ने भनाइप्रति लक्षित गर्दै भने, ‘विचार मिल्ने पार्टीसँग गठबन्धन गर्ने हो भने कांग्रेससँग ठ्याक्कै विचार मिल्ने पार्टी कांग्रेस नै छ, अरु कुन पार्टी छ ? ’त्यसकारण बामपन्थी पार्टीसँग गठबन्धन गर्नुपरेको उनले बताए । गठबन्धन गर्दा विपरीत दृष्टीकोण र विचार हुन सक्ने उनको भनाइ थियो ।
congress 2.jpg

माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन स्व. गिरिजा प्रसाद कोइराला र पुष्पकमल दाहाल (प्रचण्ड) बीच १२ बुँदे सहमति भएको उनले बताए । उनले भने, ‘शान्ति प्रक्रियाको सुरुवात नभएको भए ज्यान गुमाउनेको संख्या १७ हजारबाट ३४ हजार पुग्थ्यो ।’ माओवादीसँग गिरिजाबाबुले शान्तिप्रक्रियाको प्रारम्भ गरेर वि.पी.को सपना पुरा भएको उनले बताए ।

congress 4 4.jpg

गृहमन्त्री खाँणले देशभर एकैदिन निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, उम्मेदवार, मतदातालाई धन्यवाद दिए । निर्वाचन स्वतन्त्र, निष्पक्ष हुनु नै लोकतन्त्रको सुन्दर पक्ष भएको उनले बताए । निर्वाचन स्वतन्त्रतापूर्वक तथा निष्पक्ष रुपमा सम्पन्न गर्नु गठबन्धन सरकारको सफलता भएको उनले बताए । 
उनले यो स्थानीय तहको निर्वाचनमा कांग्रेसले राम्रो स्थान प्राप्त गरेको बताए । रुपन्देहीको विकासका लागि आफू साथमा रहेको उनको भनाइ थियो ।  

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । उनले आगामी प्रदेश र संघको निर्वाचनमा पनि कांग्रेसले जित्ने दावी गरे । नेता रज्जाकले भने, ‘देशलाई समृद्ध बनाउँछौं ।’

कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, कांग्रेस पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी, प्रदेश सरकारका शिक्षा, युवा, विज्ञान तथा खेलकुद मन्त्री वसिउद्दीन खान, कांग्रेस रुपन्देहीकी उपसभापति अनिता शाह, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, संविधानसभा सदस्य जन्नतुन निशा, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, कांग्रेस क्षेत्र नम्बर ३ (क) का सभापति सुरेन्द्रजंग थापा, सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्का, शुद्धोधन गाउँपालिकाका सभापति दामोदर पौडेल, महासमिति सदस्य तथा शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल, शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष चन्द्रमान चौधरी थारु लगायतले बोल्दै कांग्रेसलाई अझ बलियो बनाउँदै विकासका लागि समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताए ।

कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङको अध्यक्षता, क्षेत्र नम्बर ३ (ख)का सभापति घनश्याम चालिसेको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा क्षेत्र नम्बर ३ अन्तर्गतका ३ जना नगरप्रमुख, ३ जना गाउँपालिका अध्यक्ष, २ जना गाउँपालिका उपाध्यक्ष, १८ जना वडाअध्यक्षसहित १ सय ८ जना जनप्रतिनिधिलाई सम्मान गरिएको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए ।


लुम्बिनी चिन्तन

थप समाचार