भैरहवा असार २,
सरकारले प्रस्तुत गरेको बजेटमा एकै प्रकृतिको उद्योगलाई बिभेद गरेको भन्दै रुपन्देहीका स्टिल उधोगीहरु आन्द्योलीत भएका छन् । सरकारको विभेदकारी नीति तुरुन्त परिवर्तन गर्नुपर्ने माग राख्दै उद्योगीहरुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी मार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । सिदार्थनगर उधोग बाणिज्य संघका कार्यबहाक अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, उधोगी , मजदुर प्रतिनीधी लगायतको टोलीले ज्ञापनपत्र बुझाएको थियो ।

सरकारको नितिका कारण फलामे डण्डीको मूल्य बढ्न जाने र बजारमा प्रतिष्पर्धा गर्न नसकिने हुदा उधोग बन्द भए ८ देखी १० हजार मजदुरहरु बिस्थापनको अवस्थामा पुगेको पञ्चकन्या समुहका उप महाप्रवन्धक देवेन्द्र साहुले बताए ।
सरकारले स्पञ्ज आईरनको आयत गर्दा लाग्ने भन्सार दर तथा अन्तःशुल्क छुट गरि आफुहरुलाई बिभेद गरेको स्टिल उद्योगीहरुले गुनासो गरेका छन् । पत्रु पागलेर फलामे छड उत्पादन गर्ने र त्यसमा मिसाउन चाहिने कच्चा पदार्थ (स्पन्ज आइरन) पैठारी गर्दा भन्सार दर १ प्रतिशत र अन्तःशुल्कलाई शुन्य प्रतिशतमा झारेका कारण सोझै बिलेड आयत गरेर डण्डी उत्पादन गर्दा महङगो हुने हुदा अन्य उधोगले प्रतिष्पर्धा गर्न नसकेर उधोग बन्द गर्नु पर्ने अवस्था रहेको सिद्धार्थ उद्योग बाणिज्य संघका एसोसियट उपाध्यक्ष एवम् एभरेष्ट रोलिङ ईण्ड्रिटिज प्रालिका सञ्चालक अरुणकुमार गोयनकाले जानकारी दिए ।

सरकारको विभेदकारी र असहयोगी नीतिका भएको र यसले यँहाका स्टिल उद्योगी विस्थापित हुने अवस्थामा पुगेको गोयन्काले बताए । अर्थमन्त्री जनार्दन शर्माले सिमित उद्योगीलाई फाइदा पुग्ने गरी बजेटमा करको दर तय गरेको उधोगीहरुको आरोप छ ।
आर्थिक वर्ष २०७९÷०८० को नयाँ बजेट मार्फत अर्थमन्त्री शर्माले कच्चा पदार्थको रुपमा रहेको बिलेट र समान प्रकृतिको एमएस वायरमा भन्सार र अन्तःशुल्क थपिदिएका छन् । तयारी पदार्थमा मात्र अन्तःशुल्क लाग्ने अन्तरराष्ट्रिय प्रचलन रहि आएकोमा अहिले अर्थमन्त्रीले कच्चा पदार्थमा पनि अन्तःशुल्क थपेको एस आर स्टिल उधोगका संचालक सुरज उप्रेतिले बताए ।

बिलेटको अन्तःशुल्क प्रति मेट्रिकटन २ हजार ५ सय रुपैयाँबाट बढाएर ३ हजार ५ सय पुर्याइएको छ भने एमएस वायरको साविकको ५ प्रतिशत भन्सार महशुललाई वृद्धि गरी १० प्रतिशत पुर्याइएको र भन्सार बिन्दुमै लगाइने अन्तःशुल्क बढाएर ४ हजार ५ सय पुर्याइएको छ उप्रतिले भने ।
फलामे डन्डीको कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा भन्सार महसुल १ प्रतिशत मात्र कायम गरी अन्तःशुल्क पूर्ण छुट गरेको छ । यो व्यवस्थाले नेपालमा सञ्चालित ३० वटा स्टिल उद्योगहरुमध्ये स्पञ्ज आइरन तथा पत्रु पगालेर डण्डी बनाउने ८ उद्योगहरुलाई मात्र एकपक्षीय रुपमा अत्यधिक लाभ गरेको उनको भनाई छ ।
अर्थमन्त्रीलाई ज्ञापनपत्र
उद्योगी, मजदुर, उद्योग बाणिज्य महासंघ, सिद्धार्थ उद्योग बाणिज्य संघले प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्री जनार्दन शर्मालाई सहजीकरणको अनुरोध गरेको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आफुले प्राप्त गरेको ज्ञापन उद्योगी र कामदारको हितमा रहेको कारण आफुले सो ज्ञापन अर्थमन्त्री सम्म पु¥याउने प्रतिवद्धता जनाए ।
बिहान साढे ९ बजे भैरहवाको बुद्ध चोकमा भेला भएर बिरोधमा ब्यानर प्रदर्शन गरेका थिए । प्रदर्शनमा जिल्लामा रहेका विभिन्न आठवटा उद्योगका सञ्चालक, एक हजार बढी मजदुर र कर्मचारी सहभागी थिए । प्रत्येक उद्योगबाट ब्यानरसहित आएका प्रदर्शनकारीले विभेदकारी व्यवस्था भन्दै त्यसबिरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले भन्सार र अन्तःशुल्क दर खारेज गर, उद्योगबीच समान नीति लागू गर, लगानीको सुरक्षा गर, मजदुरको माग सुनुवाई गर उल्लेख गरिएका प्लेकार्ड बोकेका थिए ।

नेपालमा स्टील उद्योग ३० वटा छन् । त्यसमध्ये फलामे डन्डीको कच्चा पदार्थ स्पञ्ज आइरन र पत्रु पगालेर छड बनाउने ८ उद्योग छन् भने बाँकी २२ वटा उद्योगले कच्चा पदार्थ वलेटस्बाट छड बनाउँछन् । सरकारले २२ वटा उद्योगलाई प्रत्यक्ष प्रभावित हुने गरी भन्सार महसुल र अन्तःशुल्क दर बृद्धि गरेको छ । ८ उद्योगलाई भने भन्सार महसुल १ प्रतिशत र अन्तःशुल्क पूर्णरुपमा छुट दिएको छ ।
उद्योगीहरुबीच नै बिवेदकारी नियम लागू गरिँदा अधिकांश उद्योग मर्कामा परेको नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
रुपन्द्येहीमा रहेका एसआर स्टिल प्रालि, पन्चकन्या स्टील प्रालि, पञ्चकन्या वायर प्रालि, रत्ना आयरन इण्डष्ट्रिज प्रालि, विनायक स्पात, काठमाडौं स्टिल प्रालि लगायतले बिहीबार प्रदर्शन गरेका हुन् रहेका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव विजय पाण्डेले सरकारको विभेदकारी नीति तुरुन्त परिवर्तन गर्नुपर्ने बताए । उद्योगीको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले ज्ञापनपत्र मन्त्रालयमा पठाइने जनाए ।