Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा ,थप प्रभावकारी बनाउन एमालेको यस्तो छ योजना


  • लुम्बिनी चिन्तन
  • बैशाख १६, २०७९ शुक्रवार
  • 708
    SHARES

ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा ,थप प्रभावकारी बनाउन एमालेको यस्तो छ योजना


भैरहवा बैशाख १६ 
सफा नगरको पहिचान बनाएको तिलोत्तमा नगरपालिकालाई आगामी दिन अझैं सफा, हराभर बनाउन नेकपा एमालेले विभिन्न योजनाहरु अघि सारेको छ । नेपालको पहिलो पूर्ण सरसफाई उन्मुख तिलोत्तमा नगरपालिकालाई अझैं राम्रो बनाउन एमालेले स्थानीय तह निर्वाचनको प्रतिबद्धता पत्रमा विभिन्न विषयहरु समावेश गरेको हो । 
तिलोत्तमामा नियमित सरसफाई अभियान सञ्चालन हुँदै आएको छ भने सबै वडामा फोहोर संकलन तथा व्यवस्थापन संयन्त्र परिचालन गरिएको छ । यहाँ फोहोर संकलन तथा व्यवस्थापनको काम निजी क्षेत्र र सहकारीसँगको सहकार्यमा हुँदै आएको छ । एमालेका नगर प्रमुख पदका उम्मेदवार मोहन चापागाईंले सहरमा उत्पादित जैविक फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्न र अजैविक फोहोरलाई पुनः प्रयोग गर्न वाससहकारी तथा निजी क्षेत्रसँग समन्वयात्मक पहल गर्ने कार्यलाई निरन्तरता दिइने जनाउनु भएको छ ।
निजी क्षेत्र, वास सहकारी तथा नगरपालिकाको सहभागितामा हाल सञ्चालन भइरहेको फोहर व्यवस्थापन कार्यलाई थप व्यवस्थित गरिने, प्रत्येक घरमा खेर जाने पानी व्यवस्थापन पद्धतिको अवलम्बन गरी घरआँगन सफा राख्ने कार्यलाई प्रभावकारी अनुगमनसहित थप व्यवस्थित गरिने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।आगामी दिनमा नगरका विभिन्न सार्वजनिक स्थानहरूमा आवश्यकतानुसार सार्वजनिक शौचालय निर्माणको कार्यलाई प्राथमिकता दिइने उपप्रमुख पदकी उम्मेदवार जागेश्वरी चौधरीले बताउनुभयो । 
नगरपालिकाभित्र रहेका तपाहा तथा गाउँकुलामा देखिने फोहोरको नियन्त्रण र व्यवस्थापन गर्न टोल विकास संस्था तथा स्थानीय समुदायलाई अझ प्रभावकारी रूपमा परिचालन गरिने विषयलाई पनि एमालेले आफ्नो प्रतिबद्धता पत्रमा समेटेको छ ।

शून्य पोलिथिन योजनालाई दिगो रूपमा व्यवस्थित गर्न छिमेकी पालिकाहरूसँग समन्वय गरी प्रभावकारिता ल्याइने, नगर क्षेत्रभित्रका ठुला तथा साना सडकहरूमा नियमित सरसफाइको व्यवस्था गरिने, प्रत्येक सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थीहरूमार्फत् घरपरिवारमा जनचेतना जगाई सफासुग्घर रहन वास कार्यक्रमलाई अझ प्रभावकारी बनाइने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।नगरपालिकाले तोकेको मापदण्डअनुसार पूर्ण सरसफाइमा रहने घर परिवारलाई पूर्ण सरसफाइको स्टिकर उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने एमालेको योजना छ । 
सार्वजनिक सवारी साधनमा फोहरमैला व्यवस्थित गर्न अनिवार्य डस्टबिन राख्ने व्यवस्थालाई  प्रोत्साहित गरिने जनाउँदै एमालेले  तिलोत्तमा नगरपालिकाको ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमा भन्ने नारालाई आत्मसात गरी स्वच्छ, सफा तथा हराभरा नगर, नेपालकै नमुना सहरको रूपमा विकसित गर्ने हाम्रो अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ । हरेक महिनाको १ र १५ गतेका दिन सञ्चालन हुँदै आएको नगर सरसफाइ अभियानलाई अझै उत्साहका साथ निरन्तरता दिइने पनि एमालेले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार