४ वैशाख, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो शुक्रबारदेखि सञ्चालन गर्दैछ । ९ वैशाखदेखि सुरु हुने परीक्षका लागि बोर्डले २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकिएका छ । बोर्डले यो वर्ष नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको हो ।
विगत दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणिकरण गरेको बोर्डले यो वर्ष भने भौतिक रुपमा परीक्षा गर्न लागेको हो । परीक्षाको लागि प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षा सामग्री ७७ ओटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।
एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७८ को एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन् । यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ ।
दुई वर्षपछि ग्रेड वृद्धिका लागि परीक्षा दिँदै विद्यार्थी
कोरोना महामारीको कारण दुई वर्ष आन्तरिक मूल्याङ्कन आधारमा नतिजा प्रकाशित हुँदा ग्रेड वृद्धिका लागि परीक्षा दिने विद्यार्थी परीक्षा दिन वञ्चित थिए ।
त्यस्ता विद्यार्थीहरुले यस वर्ष ग्रेड वृद्धिको परीक्षा दिँदै छन् । र त्यस्तो परीक्षा दिने ११ हजार ४५४ विद्यार्थी रहेका बोर्डले जनाएको छ ।