भैरहवा, चैत्र १२ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधि मेलवर्न क्रिकेट क्लब (एमसीसी)ले हात पारेको छ । शनिबार भएको फाइनलमा बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै एमसीसी उपाधि जित्न सफल भएको हो । योसँगै सुपर लिगको साढे दुईदशकको इतिहासमा एमसीसीले नवौंपटक उपाधि जितेको छ ।
उपाधिसँगै एमसीसीले नगद ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको बुद्धले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ११.५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा २८ रन मात्रै बनाएको थियो । उसका लागि अजय त्रिपाठीले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न एमसीसीका रमेश कुर्मीले ५.५ ओभर बलिङ गर्दै ३ मेर्डन राखेर ७ रन खर्ची ६ विकेट लिए । यस्तै, सन्तोष यादवले ३ तथा शिवकुमार मौर्यले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको एमसीसीले ७ ओभरमा एक विकेटको नोक्सानीमा २९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुशान्त थापाले नटआउट १५ र विजय प्रजापतीले नटआउट ८ रन जोडे । बलिङमा बुद्धका विपिन खत्रीले एक विकेट लिए । एमसीसीका रमेश कुर्मी म्यान अफ द फाइनल भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा एमसीसीका रोशनलाल गुप्ता म्यान अफ द सिरिज र बेष्ट बलर घोषित भए । उनले क्रमशः १५ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, एमसीसीकै विजय प्रजापती बेष्ट ब्याट्सम्यान र उदयीमान खेलाडी घोषित भए । उनले क्रमशः ५–५ हजार रुपैयाँ प्राप्त गरे । विजयी टिमलाई सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, नेपाल टेलिकमका उपमहाप्रबन्धक झविन्द्रलाल उपाध्याय, भीम अस्पताल विकास समिति अध्यक्ष कुलप्रसाद न्यौपाने, उधोग बाणिज्य महासंघका केन्द्रयि सदस्य महेन्द्र कुमार श्रेष्ठ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगीतामा संघका पुर्ब केन्द्रीय सदस्य प्रेम कुमार सेन्चुरीले आप्नौ बुवा आमाको स्मृतीमा स्थापना गरेको अक्षय कोष बाट उपबिजेता टिमलाई पुरस्कार स्थापना गर्नु भएको थियो । कार्यक्रम संघका सचिव संजय गुरुड.को संचालन र भरत थापाको संयोजनमा सम्पन्न भएको थियो ।
((