भैरहवा, फागुन ३० ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्र्तग डिभिजन ‘ए’को सोमबारको खेलमा बुद्ध क्रिकेट क्लबले बुटवल–११ क्रिकेट क्लबमाथि ७ विकेटको जित हात पारेको छ ।
टस जितेर व्याटिङ गरेको बुटवल–११ निर्धारित ५० ओभरको खेलमा २०.४ ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बुद्धका विपिन खत्रीले ८.४ ओभर बलिङ गर्दै २ मेर्डन राख्दै २४ रन खर्चेर ५ विकेट लिए । यस्तै, अमित अग्रहरीले ३ ओभर बलिङ गर्दै १५ रन खर्चेर ४ विकेट लिए । बुटवल–११ का लागि अमित श्रेष्ठले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
जवाफी ब्याटिङ गरेको बुद्धले ८.४ ओभरमा ३ विकेटको नोक्सानीमा ५७ रन बनाउँदै जित निकाल्यो । उसका लागि सुरज पौडेलले १७ र अजय त्रिपाठीले ११ रन बनाए । बलिङमा बुटवल–११ का इशान पाण्डेले ३ विकेट लिए । बुद्धका विपिन खत्री म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे । मंगलबार न्यु होराइजन क्रिकेट क्लब र देवदह क्रिकेट युनिटबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए ।