भैरहवा फागुन १५
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्धारित समय अनुसार आइतबार फ्लाइट सम्पन्न भएको हो ।
एरोथाइको जहाज ५ फागुनमा नेपाल आएको हो । यो जहाजले आइतबारसम्म नै तोकिएको उडानहरु पूरा गरेको प्राधिकरणले जनाएको छ । पूर्वनिर्धारित तालिका अनुसार जहाज सोमबार थाइल्याण्ड फर्कनु पर्ने थियो । तर, उपकरण जडित जहाज नेपाल आएको मौकामा करिब आधा दर्जन आन्तरिक विमानस्थलहरुमा पनि परीक्षण उडान गर्ने योजना बनाइएको छ । सोही अनुसार जहाज आइतबार नै पोखरा जाने भएको छ । त्यसपछि आन्तरिक विमानस्थलहरुमा परीक्षण उडान गरिने छ ।
काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा पछिल्लो समय ३ सय मिटर धावनमार्ग विस्तार गरेपछि क्यालिब्रेसन फ्लाइट गरिएको छैन । प्राविधिक रुपमा विमानस्थल सुरक्षित छ भन्ने सुनिश्चित हुन नयाँ संरचना बनेपछि यस्तो परीक्षण गर्नुपर्ने हुन्छ । सोहीकारण आन्तरिक तथा काठमाडौंमा भने क्यालिब्रेसन परीक्षण हुने भएको हो ।
प्राधिकरणका अनुसार ‘आइएफआर सिस्टम’ जडान भएका सबै विमानस्थलमा हरेक दुई/दुई वर्षमा यस्तो परीक्षण गर्नुपर्छ । यसले जडित प्रणालीहरु ठिक छन् वा छैनन् भन्ने परीक्षण हुन्छ । तर, पछिल्लो समय धेरै समयदेखि यस्तो परीक्षण गरिएको थिएन । नेपालमा जहाज आएको मौकामा ती आन्तरिक विमानस्थलहरुमा समेत परीक्षण गर्न लागिएको हो । सोहीकारण जहाज अझै एक साता नेपालमा रहने भएको हो ।