भैरहवा फागुन १५
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको आइतबारको खेल तिलोत्तमा क्रिकेट क्लबले जितेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा जारी डिभिजन ‘बी’अन्तर्गतको खेलमा साई ग्लोबल क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै विजय हासिल गरेको हो । जितसँगै तिलोत्तमा डिभिजन ‘ए’मा उक्लेको छ ।
टस जितेर ब्याटिङ रोजेको साई ग्लोबलले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय २९ रनको योगफल बनाएको थियो । एक सय ३० रनको लक्ष्य पाएको तिलोत्तमाले ३२ ओभरको ५आँै बलमा लक्ष्य पार गरी जित निकालेको हो । जितका लागि अमरसिंह रटौलाले सर्वाधिक अभिजित ३४ रन, कृष्ण भुसालले ३२ र कृष्ण कार्कीले २३ रन बनाए । बलिङ्गमा साई ग्लोबलका अहमद हुसेनले तीन र दुर्गेश कुर्मीले एक विकेट लिए ।
साई ग्लोबलका आकाश त्रिपाठीले टिमका लागि सर्वाधिक ४६ रन, अजमत अलिले २७ र रुपेश बास्तोलाले २६ रन बनाए पनि जित हासिल गर्न सकेनन् । ४० ओभरमै समेटेको तिलोत्तमाका अमर सिंह रटौलाले तीन, श्याम ढकाल र कृष्ण कार्कीले समान दुई र कृष्ण पराजुलीले एक विकेट लिए । तिलोत्तमाका अमरसिंह रटौलाले दुई छक्का र चार चौकाको मद्दतले अभिजित ३४ रन र २२ रन दिँदै तीन विकेट लिए । आइतबारको खेलमा रटौला ‘म्यान अफ द म्याच’बाट पुरस्कृत भए । सोमबारको खेल बुटवल राइनोज र गोलपार्क क्रिकेट क्लबका बीच हुने संघका सचिव संजय गुरुङले जानकारी दिए ।
२०५४ सालदेखि निरन्तर आयोजना हुँदै आएको नेपालको एकमात्रै सुपर लिग प्रतियोगितामा जिल्ला भित्रका ‘ए’ डिभिजनका आठ र बी डिभिजनका १२ गरी २० टिम सहभागी छन् । एक दिवसीय ५०–५० ओवर फर्मेटमा खेलाइने ‘बी’ डिभिजनका टप हुने टीम ‘ए’ डिभिजनमा बढुवा हुने गरी प्रतिस्पर्धा गराइने संघका सचिव गुरुङले बताए ।