भैरहवा, ७ फागुन ।
‘नेपाल टेलिकम रुपन्देही सुपर लिग–२०७८’ शनिवारदेखि सुरु भएको छ ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा टेलिकमको प्रमुख प्रायोजनमा भैरहवास्थित सिद्धार्थ रंगशालामा सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका शिक्षा, युवा तथा खेलकुद मन्त्री वसिउद्धिन खानले एक कार्यक्रमका बीच उद्धघाटन गरेका छन् ।

लिग उद्धघाटन गर्दै मन्त्री खानले सिद्धार्थ रंगशाला र क्रिकेटको स्तरोन्नतीका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए । उनले खेलाडिका लागि आवश्यक खेल सामग्री लगायतका उपकरणहरुका लागि प्रक्रिया अगाडि बढेको भन्दै प्रदेश सरकार यसमा प्रतिबद्ध रहेको दोहोरयाएका हुन् ।

उद्धघाटन कार्यक्रममा क्रिकेट संघका केन्द्रीय सचिव प्रशान्त बिक्रम मल्ल , सल्लाहकार प्रेम कुमार सेन्चुरी , ऋषिकेश अग्रवाल , उपाध्यक्ष धिरज क्षत्री , सचिव संजय गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो । प्रतियोगीतामा द्धितीय पुरस्कार आफ्ना बुवा आमाको सम्झनामा प्रेम कुमार सेन्चुरीले प्रदान गरेका छन्
डिभिजन ए र बी गरी २० वटा टीम सहभागी भएको प्रतियोगिताको शनिवार सम्पन्न उद्धघाटन खेलमा बुटवल युथ र देवदह क्रिकेट युनिटका बीचमा प्रतिष्पर्दा भएको थियो । पहिला व्याटिङ्ग गरेको देवदह क्रिकेट युनिटले दिएको २ सय १४ को लक्ष्यलाई भेटाउने क्रममा बुटवल युथ १ सय ७५ मा समेटिदा देवदहले विजयी सुरुवात गरेको रुपन्देही क्रिकेट संघका सचिव तथा अन्तराष्ट्रिय अम्पायर संजय गुरुङले बताए ।
संघको आयोजनामा वि.सं. २०५४ सालदेखि हुंदै आइरहेको रुपन्देही सुपर लिग प्रतिष्ठित लिग मानिन्छ । प्रतियोगितामा ए डिभिजनका टिमहरु वेस्टर्न क्रिकेट क्लब बुटवल, न्यू होराइजन क्रिकेट क्लब बुटवल, लुम्बिनी खुकुरी क्लब बेलहिया, बुद्ध क्रिकेट क्लब भैरहवा, तिरुपति क्रिकेट क्लब भैरहवा, मेलबर्न क्रिकेट क्लब भैरहवा, एक्स्पर्ट जी आर बेल्बास र बुटवल ११ बुटवलको सहभागिता रहेको सचिव गुरुङ्गले जानकारी दिए ।
त्यस्तै बी डिभिजका टिमहरु लुम्बिनी शाक्यान लुम्बिनी, देवदह क्रिकेट युनिट देवदह, बुटवल युथ बुटवल, सैनामैना क्रिकेट क्लब सैनामैना, प्रोफेसनल मास्टर्स भैरहवा, ज्ञानोदय क्रिकेट क्लब नयांमिल, तिलोत्तमा क्रिकेट क्लब मणिग्राम, स्टार क्रिकेट क्लब पड्सरी, साई ग्लोबल क्रिकेट क्लब भैरहवा, बुटवल राईनोज बुटवल, शंकरनगर क्रिकेट क्लब शंकरनगर र गोलपार्क क्रिकेट क्लब बुटवलको सहभागिता रहेको उनले जानकारी दिए । रुपन्देही सुपर लिगका सम्पूर्ण खेल एकदिवसीय ५०–५० ओभरको फर्मेटमा खेलाइने भएपनि समयका कारण उद्धघाटन खेलभने ४० ओभरमा समेटिएको उनले बताए । प्रतियोगिता अवधिभर रुपन्देही सुपर लिगमा ३१ वटा म्याच हुने उनले बताए । क्रिकेटको उर्वर भुमि मानिने रुपन्देहीमा आयोजना गरिएको यस लिगको विजेताले नगद ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उपविजेतालाई नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।त्यस्तै म्यान अफ द म्याच (प्रत्येक खेल)मा रु. १ हजार २ सयसहित ट्रफी प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ । संघले यस वर्षको रुपन्देही सुपर लिगको अवधिभरका लागि सम्पूर्ण खेलाडी र अफिसियलहरुको दुर्घटना बीमा गराउने समेत जानकारी गराएको छ ।