भैरहवा, ५ फागुन ।
‘नेपाल टेलिकम रुपन्देही सुपर लिग–२०७८’ यही फागुन ७ गते शनिबारदेखि चैत १२ गतेसम्म संचालन हुने भएको छ ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा टेलिकमको प्रमुख प्रायोजनमा भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा डिभिजन ए र बी गरी २० वटा टीम सहभागी हुने रुपन्देही क्रिकेट संघका सचिव तथा अन्तराष्ट्रिय अम्पायर संजय गुरुङले बताए ।
संघको आयोजनामा वि.सं. २०५४ सालदेखि हुंदै आइरहेको रुपन्देही सुपर लिग प्रतिष्ठित लिग मानिन्छ । प्रतियोगितामा ए डिभिजनका टिमहरु वेस्टर्न क्रिकेट क्लब बुटवल, न्यू होराइजन क्रिकेट क्लब बुटवल, लुम्बिनी खुकुरी क्लब बेलहिया, बुद्ध क्रिकेट क्लब भैरहवा, तिरुपति क्रिकेट क्लब भैरहवा, मेलबर्न क्रिकेट क्लब भैरहवा, एक्स्पर्ट जी आर बेल्बास र बुटवल ११ बुटवलको सहभागिता रहने सचिव गुरुङ्गले जानकारी दिए ।
त्यस्तै बी डिभिजका टिमहरु लुम्बिनी शाक्यान लुम्बिनी, देवदह क्रिकेट युनिट देवदह, बुटवल युथ बुटवल, सैनामैना क्रिकेट क्लब सैनामैना, प्रोफेसनल मास्टर्स भैरहवा, ज्ञानोदय क्रिकेट क्लब नयांमिल, तिलोत्तमा क्रिकेट क्लब मणिग्राम, स्टार क्रिकेट क्लब पड्सरी, साई ग्लोबल क्रिकेट क्लब भैरहवा, बुटवल राईनोज बुटवल, शंकरनगर क्रिकेट क्लब शंकरनगर र गोलपार्क क्रिकेट क्लब बुटवलको सहभागिता हुने उनले जानकारी दिए ।
रुपन्देही सुपर लिगका सम्पूर्ण खेल एकदिवसीय ५०–५० ओभरको फर्मेटमा खेलाइने उनले बताए । प्रतियोगिता अवधिभर रुपन्देही सुपर लिगमा ३१ वटा म्याच हुने उनले बताए । क्रिकेटको उर्वर भुमि मानिने रुपन्देहीमा आयोजना गरिएको यस लिगको विजेताले नगद ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उपविजेतालाई नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए । त्यस्तै म्यान अफ द म्याच (प्रत्येक खेल)मा रु. १ हजार २ सयसहित ट्रफी प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ ।
खेलाडिको मनोवल बढाउंदै क्रिकेटको प्रवद्धनका लागि प्रतियोगितामा विगतभन्दा पुरस्कार राशीमा वृद्धि गरिएको संघका कार्यवाहक अध्यक्ष क्षेत्रीले जानकारी दिए । उनका अनुसार गतवर्ष विजेता टिमले ७५ हजार तथा उपविजेताले ३५ हजार नगद प्राप्त गरेका थिए । यस्तै म्यान अफद म्याच घोषित हुने खेलाडिले समेत गत वर्षभन्दा दुई सय रुपैंया बढी प्राप्त गर्नेछन् ।
संघले यस वर्षको रुपन्देही सुपर लिगको अवधिभरका लागि सम्पूर्ण खेलाडी र अफिसियलहरुको दुर्घटना बीमा गराउने समेत जानकारी गराएको छ ।
करीब ९ लाख खर्च लाग्ने अनुमान गरिएको उतm प्रतियोगितामा सहभागी हुने प्रत्येक टीमलाई ८ हजार रुपैंया प्रवेश शुल्क तोकिएको छ । प्रतियोगितामा रुपन्देहीका सबै क्षेत्रलाई समावेश गराउने उद्देश्य अनुरुप देवदह, सैनामैना लगायतका क्षेत्रबाट टीम दर्ता गरिएको सचिव गुरुङ्गले जनाकारी दिए । उनका अनुसार खेलमा एक टीमले आवश्यकताको आधारमा तिन जनासम्म अन्य जिल्लाका वा राष्ट्रिय खेलाडि समावेश गर्न पाउने छन् । लिग अत्यन्त रोचक हुने हुंदा क्रिकेटप्रेमीहरुले प्रत्यक्ष रंगशालामा उपस्थित भएर खेलको मजा दिन उनले सबैमा आग्रह गरे । खेल प्रत्येक दिन विहान ९ बजेदेखि सुरु हुने कार्यक्रम संयोजक भरत थापाले बताए ।
रुपन्देही क्रिकेट संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्रीको अध्यक्षता तथा सचिव संजय गुरुङको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रममा रुपन्देही सुपर लिगका संयोजक भरत थापा, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी., निवर्तमान अध्यक्ष दीपेश पछाई लगायतको उपस्थिति रहेको थियो ।