भैरहवा माघ २५
निर्वाचन आयोगले केही दिनभित्रमै स्थानीय तहको निर्वाचन कार्यतालिका प्रकाशन गर्ने बताएको छ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेपछि आयोग निर्वाचनको तयारीमा लागिसकेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
‘…निर्वाचनको मिति घोषणा भइसकेपछि हामीले हिजो निर्णय गरेर ७७ वटै जिल्लामा मतदाता नामावली संकलनको कार्य स्थगित भएको अवस्था छ । केही दिनमा वैशाख ३० गते सम्मकै कामको कार्यतालिका निकाल्छौँ ।
अब आयोगले मतदाता नामावली अध्यावधिकको काम सुरु गर्ने उनले बताए । अन्तिम मतदाता नामावली प्रकाशित हुन भने अझै डेढ महिना लाग्ने पौडेलले बताए ।
आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने पनि आयोगले बताएको छ । निर्वाचनका लागि १२० दिन समय पाउनुपर्नेमा अब केवल ९५ दिन मात्रै आयोगसँग भएकाले सबै काम फाष्ट ट्रयाकबाट गर्नुपर्दा खर्च बढ्ने प्रवक्ता शर्माले बताए ।
स्थानीय तह निर्वाचनका लागि हालसम्म दर्ता भइसकेका १०५ र अब दर्ता हुने दलले पनि भाग लिन पाउने आयोगले बताएको छ ।