भैरहवा माघ ३,
केही हप्तामा गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थलबाट परिक्षण उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको ठूलो जहाज (ए३२०÷३३० जहाजबाट परीक्षण उडान गरिने जनाएको छ ।
विमानस्थलको परीक्षण पूरा गरी व्यवसायिक सञ्चालनमा ल्याउने सन्दर्भमा सोमबार पर्यटन मन्त्रालयले प्राधिकरणसँग छलफल गरेको थियो । सो क्रममा प्राधिकरणले प्रस्तुत गरेको योजना अनुसार परीक्षण उडानका लागि नेपाल एयरलाइन्सको ठूलो जहाज प्रयोग हुनेछ ।
प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याउन आजैबाट ‘मिसन भैरहवा विमानस्थल’ शुरु गरिएको छ । यो आयोजनामा उपकरण जडानसहित प्राविधिक कामको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई)ले पाएको छ । क्यालिब्रेसन फ्लाइटको जिम्मा पनि उसकै हो । उनका अनुसार एरोथाई कम्पनीले क्यालिब्रेसन उडानका लागि अहिले अन्तिम चरणका काम गरिरहेको छ ।
यो काम पूरा गरेसँगै सोही कम्पनीबाट २४ जनवरीमा विशेषज्ञको टीम नेपाल आउँदैछ । सो टिमले २५ जनवरीबाट काम शुरु गर्नेछ । उक्त कम्पनीले दिएको अनुमानित मिति अनुसार १० फेब्रुअरी वा यस आसपासको दिनमा उपकरणजडित विशेष जहाज नेपाल ल्याइने छ । उक्त जहाजबाट यान्त्रिक उपकरणहरुले काम गरे–नगरेको अध्ययन गरिने छ । त्यसको एक÷दुई दिनमै नेपाल एयरलाइन्सको एयरबस जहाजबाट परीक्षण उडान गर्ने गरी कार्यतालिका बनेको ठाकुरले बताए ।