भैरहवा पौष १८,
उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्स, रुपन्देही) को आयोजनामा आगामी माघ २६ गतेदेखि फागुन ८ गतेसम्म भैरहवामा छैठौं लुम्बिनी महोत्सव–२०७८ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) हुने भएको छ ।
सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा महोत्सव हुने भएको हो । महोत्सवका लागि ४१ सदस्यीय मेला मूल आयोजक समिति, १६ सदस्यीय सचिवालय, ९ सदस्यीय स्टेरिङ्ग कमिटी, १५१ सदस्यीय सल्लाहकार र २५ सदस्यीय विशिष्ट सल्लाहकार गठन गरिएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । महोत्सवमा १ करोड २० लाख अनुमानित खर्च तथा ३ लाख ५० हजार आम्दानी हुने संगठनका अध्यक्ष ज्ञवालीले जानकारी दिए ।
मेलाको संरक्षक नेपाल चेम्बर अफ कमर्स, केन्द्रीय कार्यालय काठमाडौं र लुम्बिनी प्रदेश चेम्बर अफ कमर्स, बुटवल तथा सिद्धार्थनगर नगरपालिका सह–आयोजक रहेको छ । त्यस्तै सह–आयोजक (प्रस्तावित)मा लुम्बिनी प्रदेश उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, खाद्य, प्रविधि तथा भूमिव्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय रहेका छन् ।
मेलाको सह–प्रायोजक एस.आर. गु्रप र आधिकारिक अफिसियल बैंक (प्रायोजक) सेञ्चुरी कर्मसियल बैंक लिमिटेड रहेको अध्यक्ष ज्ञवालीले जानकारी दिए । महोत्सवका सहयोगी संस्थाहरुमा उद्योग व्यापार संगठन रुपन्देही लुम्बिनी शाखा, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देही, सिद्धार्थ होटल एशोसियसन नेपाल (सान), नेपाल भन्सार एजेण्ट संघ, बेलहिया, उद्यमी महिला संगठन, रुपन्देही, लुम्बिनी मनिचेञ्जर व्यवसायी संघ, भैरहवा, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ भैरहवा, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, भैरहवा र लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रहेको उनले बताए ।
यस वर्षको मेलामा उद्योग, व्यापार, कृषि, पर्यटनको अलगअलग डुम बनाइने र प्रत्येक डुम धुलोरहित हुने उनले बताए । मेला स्थलभित्र मायादेवी, पशुपतिनाथ मन्दिर, रानीमहल वा कुनै आकर्षक डुम बनाएर त्यसभित्र लुम्बिनी प्रदेशका आकर्षण धार्मिक वा पर्यटनको वित्तचित्र प्रदर्शन गरिने संगठनका महासचिव सचिन रोक्काले बताए । महोत्सवमा होटल, अटो, आई.टी., कृषि, उद्योग, वाणिज्य तथा अन्य संघ–संस्था गरी ४ सय वटा स्टल रहने संगठनका सचिव एवं प्रवक्ता तथा महोत्सवका स्टल निर्माण व्यवस्थापन उपसमिति संयोजक लक्ष्मण भण्डारीले बताए ।